
राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको सोमबार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले स्थानीय जनता, प्रशासन र सम्बन्धित निकायबीच बृहत छलफल गरेर दीर्घकालीन निकास निकाल्न निर्देशन दिएकी हुन्।
छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन) मा चर्किएको विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिए। बैठकमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी दिँदै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको बताए।
प्रहरी महानिरीक्षक कार्कीले पर्याप्त स्रोतसाधनको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृहकार्य भइरहेको उल्लेख गरे। यस्तै, सशस्त्र प्रहरी बलका महानिरिक्षक नारायणदत्त पौडेलले भौगोलिक रूपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको जानकारी दिए।
बैठकमा सांसदहरू नारायणदत्त मिश्र, रोशनी मेचे, श्रीकृष्णप्रसाद अधिकारी, सोनाम गेल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ र धर्मेन्द्र पासवानले सीमा विवादलाई छिटो सुल्झाउन सुझाव दिएका थिए। गत जेठ ३ गते बाजुराको हिमाली गाँउपालिका–३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयबीच कुटपिट र झडप भएको थियो।








प्रतिक्रिया