
सङ्घीय सरकारले देशका ६ वटा महानगरपालिकाका लागि आगामी आर्थिक वर्षमा पौने १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार यी महानगरहरूले कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान पाएका हुन् ।
विभिन्न शीर्षकमा वितरण गरिएको यो बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा ठुलो हिस्सा सुरक्षित गर्न सफल भएको छ । पोखराले कुल ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ अनुदान पाएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
पोखराले पाएको अनुदानमध्ये समानीकरणतर्फ ४९ करोड ६७ लाख र सशर्ततर्फ २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसैगरी उसले समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख रुपैयाँ पाएको छ ।
सङ्घीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिका अनुदान पाउने सूचीमा दोस्रो स्थानमा रहेको देखिन्छ । काठमाडौँले २ अर्ब २७ करोड ८८ लाख रुपैयाँ अनुदान पाएको छ ।
काठमाडौँ महानगरपालिकाले १ अर्ब ६० करोड १८ लाख सशर्त र ६७ करोड ७० लाख रुपैयाँ समानीकरण अनुदान पाएको छ । काठमाडौँले विशेष र समपूरक शीर्षकमा भने कुनै पनि बजेट पाएको छैन ।
चितवनको भरतपुर महानगरपालिकाले २ अर्ब ५ करोड १७ लाख रुपैयाँ कुल अनुदान पाएको छ । जसमा १ अर्ब ६१ करोड ७ लाख सशर्त र ३९ करोड ६५ लाख रुपैयाँ समानीकरण अनुदान रहेको छ ।
भरतपुरले २ करोड ५० लाख समपूरक र १ करोड ९५ लाख रुपैयाँ विशेष अनुदान समेत प्राप्त गरेको छ । वीरगन्ज महानगरपालिकाले १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ अनुदान पाएको छ ।
वीरगन्जले १ अर्ब ६० करोड ६७ लाख सशर्त, ३५ करोड ३५ लाख समानीकरण, ४० लाख विशेष र १ करोड ६७ लाख रुपैयाँ समपूरक अनुदान पाएको छ । ललितपुर महानगरपालिकाले भने कुल १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ अनुदान पाएको छ ।
ललितपुरले ७६ करोड सशर्त र ३८ करोड ५९ लाख रुपैयाँ समानीकरण अनुदान पाएको देखिन्छ । ललितपुरले पनि विशेष र समपूरक अनुदान पाउन सकेको छैन ।
विराटनगर महानगरपालिकाले सबैभन्दा कम १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ । विराटनगरले ७३ करोड ८५ लाख सशर्त र ३३ करोड ४३ लाख रुपैयाँ समानीकरण अनुदान पाएको छ भने विशेष र समपूरक अनुदान शून्य रहेको छ ।










प्रतिक्रिया