
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढीबाट चालु आर्थिक वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी मूल्यको सामान आयात भएको छ। रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन्।
यस नाकाबाट मुख्यगरी तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा र थर्मस आयात हुने गरेका छन्। हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधनलगायतका वस्तु पनि चीनबाट यही मार्ग हुँदै भित्रिने गरेको निमित्त प्रमुख विकले जानकारी दिए।
लिच्छवी तथा मल्लकालदेखि नै नेपाली व्यापारीले नुन, ऊन र जडीबुटी कारोबारका लागि रसुवागढी मार्ग प्रयोग गर्दै आएको इतिहास छ। प्राचीनकालदेखि तिब्बत जोड्ने यो व्यापारिक मार्ग आधुनिक सडक सञ्जाल विस्तारसँगै अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण केन्द्र बनेको हो।
भन्सार कार्यालयका अनुसार यस अवधिमा नेपालबाट भने करिब ९० करोड रुपैयाँ मूल्य बराबरका वस्तु मात्र निर्यात भएका छन्। नाकाबाट भएको आयात तथा निर्यातका माध्यमबाट चालु आर्थिक वर्षको हालसम्म १० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
पछिल्लो समय विद्युतीय सवारीसाधनको जाँचपासका सम्बन्धमा उठेका प्रश्नबारे निमित्त प्रमुख विकले प्रचलित भन्सार ऐनअनुसार पैठारीकर्तालाई अग्रिम राजस्व बुझाउने सुविधा रहेको स्पष्ट पारे। तोकिएको प्रक्रियाअनुसार नै राजस्व सङ्कलन भएकाले राज्यलाई कुनै आर्थिक हानि–नोक्सानी नभएको उनले बताए।








प्रतिक्रिया