जलविद्युत् र जडीबुटी उद्योगमा लगानी गर्न श्रीलङ्काली व्यवसायी तयार

नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलोन चेम्बर अफ कमर्सबिच विशेष छलफल भएको छ। सो अवसरमा श्रीलङ्काका व्यवसायीहरूले आफूहरू नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताए।

Advertisement

महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेकाले लगानीका लागि आग्रह गरे। नेपाल सरकारले जलविद्युत्मा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको र यसका लागि खर्बौँ रुपैयाँ लगानी आवश्यक भएको उनले स्पष्ट पारे।

नेपालमा वर्तमान सरकारले विदेशी लगानी प्रवर्द्धनका लागि विशेष सहजीकरण गरिरहेको उपाध्यक्ष श्रेष्ठले उल्लेख गरे। श्रीलङ्काजस्तै नेपालमा पनि जडीबुटी उद्योगका लागि आवश्यक कच्चापदार्थ प्रचुर मात्रामा रहेको उनले बताए।

Advertisement

हाल नेपालले सस्तो मूल्यमा कच्चापदार्थ निर्यात गरिरहेको जानकारी दिँदै उनले नेपालमै उद्योग खोल्न आग्रह गरे। श्रीलङ्कास्थित नेपाली दूतावासका सचिव सागर भण्डारीले पनि जलविद्युत् क्षेत्रको उच्च सम्भावनालाई औँल्याउँदै लगानीका लागि जोड दिए।

सिलोन चेम्बरका उपमहासचिव अलेका परेराले नेपालको पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा श्रीलङ्काका व्यवसायी लगानी गर्न इच्छुक रहेको बताए। जडीबुटी उद्योगमा श्रीलङ्का धेरै अगाडि रहेको उल्लेख गर्दै उनले नेपालमा उद्योग स्थापना गर्न आफूहरू तयार रहेको जानकारी दिए।

छलफलका क्रममा महासङ्घका तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य भक्तबहादुर हमालले दुई देशबिचको व्यापारिक सम्बन्धका विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए। दुवै देशका प्रतिनिधिहरूले आगामी दिनमा आर्थिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री