सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला

सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि नै स्थानीयलाई २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५ लाख ७० हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ।

सर्वसाधारणले कति पाउने ?

Advertisement

कर्मचारी र सामूहिक लगानी कोषलाई समेत छुट्याएर बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो। सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यो निष्काशन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते बन्द हुने बताइएको छ।

आयोजनाको लागत र रेटिङ्ग

इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

कम्पनीले ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ र प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ।

लगानी फिर्ता हुने अवधि

Advertisement

यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २५ वर्ष ३ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष अनुमान गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरेको छ। सर्वसाधारणले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री