
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको प्रारम्भिक नतिजाअनुसार परीक्षामा सहभागी भएकामध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरू उत्तीर्ण भएका हुन्। परीक्षामा सहभागी विद्यार्थीले अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखेर नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
महानगरका अनुसार यस पटकको छात्रवृत्ति परीक्षामा उच्चतम अङ्क ९२ रहेको छ। ९२ अङ्क ल्याएर एक जना विद्यार्थी पहिलो भएका छन् भने ९१ अङ्कका साथ दोस्रो स्थानमा पनि एक जना नै रहेका छन्।
त्यस्तै ९० अङ्क प्राप्त गरेर तेस्रो स्थान ओगट्ने विद्यार्थीको सङ्ख्या भने पाँच जना रहेको छ। महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा अध्ययनका लागि यो परीक्षा लिइएको हो।
महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले यो प्रारम्भिक नतिजा भएकाले चित्त नबुझेमा जेठ २० गतेसम्म पुनर्योगका लागि आवेदन दिन सकिने बताए। नतिजामा पुनर्योग गर्न चाहने विद्यार्थीले १ हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेश पत्रको प्रतिलिपिसहित शिक्षा विभागमा निवेदन दिनुपर्ने प्रावधान राखिएको छ।
महानगरले गत जेठ ३ गते सूचना प्रकाशन गरेर छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो। परीक्षाका लागि ८३ वटा केन्द्रहरू तोकिएका थिए।
परीक्षाका लागि १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी कुल २६ हजार ८ सय ८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका थिए।
तीमध्ये २६ हजार ६ सय ३ जनाको आवेदन स्वीकृत भएकोमा २२ हजार २० जना विद्यार्थी मात्र परीक्षामा सहभागी भएको महानगरले जनाएको छ।










प्रतिक्रिया