
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार साँझ स्वदेश फर्केका छन्। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार नयाँ दिल्ली प्रस्थान गरेका उनी विभिन्न उच्चस्तरीय भेटवार्ता सकेर फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो भारत भ्रमण पूर्ण रूपमा पारदर्शी भएको दाबी गरे। विगतका उच्च राजनीतिक नेतृत्वले जस्तो बन्द कोठामा लुकिछिपी कुनै भेटघाट नगरेको उनले स्पष्ट पारे।
आफ्ना सम्पूर्ण भेटघाटमा नयाँ दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत उपस्थित रहेको जानकारी दिँदै लामिछानेले आफूहरूबाट अपारदर्शी काम नभएको बताए। भाजपाको निमन्त्रणामा भएको यो भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तार र विशेष गरी ‘विकास कूटनीति’ मा केन्द्रित रहेको उनले उल्लेख गरे।
राजनीतिलाई अर्थ-राजनीतिमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालले अब विकासको गति समात्नुपर्ने धारणा राखे। छिमेकी राष्ट्रको विकासबाट नेपालले सिक्नुपर्ने र धार्मिक पर्यटन, कनेक्टिभिटी तथा सूचना प्रविधिमा सहकार्य गरेर आर्थिक लाभ लिनुपर्नेमा उनले जोड दिए।
विगतमा पत्रकारितामा रहँदा सिमानाको मुद्दा उठाउने तर अहिले भारत जाँदा मौन रहेको भनी सोधिएको प्रश्नमा लामिछानेले कूटनीति र मिडियाबाजी फरक कुरा भएको तर्क गरे। कूटनीतिक माध्यमलाई सक्रिय गराएर समस्या समाधान हुने भन्दै यसमा हल्ला गरेर वा ढोल बजाएर नहुने उनले बताए।
परराष्ट्र नीति कुनै पार्टी विशेषको नभई देशको हुने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेकाले थप विवाद आवश्यक नरहेको टिप्पणी गरे। जिम्मेवार दलले कूटनीतिक चरण र संवेदनशीलतालाई बुझेर सही समय र ठाउँमा कुरा राख्नुपर्ने उनको भनाइ थियो।
भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गरेका थिए। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भाजपाका विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले उनलाई बिदाइ गरेका थिए।
पाँचदिने यो भ्रमण टोलीमा लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए।








प्रतिक्रिया