
नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन्।
शुक्रबार आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा उनले यस्तो सम्भावना रहेको औंल्याएका हुन् ।
लगानी बोर्डसँगको सहकार्यमा गरिएको अध्ययनअनुसार सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा यो लक्ष्य हासिल गर्न सकिने उनले जानकारी दिए।
२० भन्दा बढी विज्ञले करिब आठ महिना लगाएर गरेको यस अध्ययनले दीर्घकालीन रूपमा वार्षिक औसत ६ प्रतिशत आर्थिक वृद्धि कायम राख्न सके लक्ष्य भेट्टाउन सम्भव रहेको देखाएको छ।
उक्त लक्ष्यलाई अघि बढाउन परिसङ्घले ऊर्जा, उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधारसम्बन्धी १०० वटा सम्भावित उपाय प्रस्ताव गरेको छ। अध्ययनका क्रममा पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, खानी तथा खनिज, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले बताए।
अध्ययनमा सन् २०२५ लाई आधार वर्ष मानी सन् २०३० सम्म सुधारका प्रभावहरू विश्लेषण गरिएको उनले जानकारी दिए। लक्ष्य हासिल गर्न सरकारबाट लगानीमैत्री नीति तथा विकास साझेदारबाट ज्ञान, वित्तपोषण र प्रविधिको सहयोग आवश्यक पर्ने उनले उल्लेख गरे।
गरिबी न्यूनीकरण, विद्युत् पहुँच विस्तार, जलविद्युत् सम्भावना, युवा जनशक्ति, उद्यमशीलता, पर्यटन, रणनीतिक भौगोलिक अवस्थिति र डिजिटल क्षमताजस्ता आधारहरूले यो अभियानलाई बलियो बनाएको उनले स्पष्ट पारे।










प्रतिक्रिया