घरमै बसेर जग्गाको नक्सा र फिल्डबुक हेर्न सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको यस एपमार्फत नागरिकले जग्गासम्बन्धी विभिन्न सेवा घरबाटै लिन सक्नेछन्।

एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध यो एप प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने नापी विभागले जनाएको छ। एपमार्फत सेवाग्राहीले जग्गाको नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा मिलाइएको छ।

अनलाइनबाटै राजस्व भुक्तानी र आवेदन ट्र्याकिङको सुविधा

Advertisement

आवेदन दर्ता भएपछि प्रणालीले उपलब्ध गराउने ओटिपी र मोबाइल नम्बर प्रयोग गरेर सेवाग्राहीले आफ्नो कामको अवस्थाबारे नियमित जानकारी पाउन सक्नेछन्। फिल्ड रेखाङ्कन लगायतका सेवाका लागि आवश्यक पर्ने राजस्व रकम ई-सेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरिएको छ।

यस एपभित्र सम्बन्धित नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बर समेत राखिएको छ। मोबाइल एपसँगै यो सेवा वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले उल्लेख गरेको छ।

प्रविधिमार्फत सेवा प्रवाहलाई सहज बनाउने सरकारी लक्ष्य

मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोग बढाएर सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताए। जग्गासम्बन्धी कामका लागि कार्यालय नै धाउनुपर्ने बाध्यता अब बिस्तारै अन्त्य हुँदै गएको उनको भनाइ छ।

‘मेरोकित्ता’ एपले सरकारी सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास मन्त्री रावलले व्यक्त गरे। उनले डिजिटल सुशासनलाई मजबुत बनाउन आगामी दिनमा यस्ता प्रविधिमैत्री सेवालाई अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत जनाए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री