
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अगाडि ठूलो संख्यामा विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्र्याएको विषयमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बजारमा उठेका प्रश्न र सार्वजनिक चासोका विषयमा बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले प्रचलित कानुन, भन्सार नियमावली तथा प्रक्रिया अनुसार नै गाडीहरू आयात र जाँचपास गरिएको स्पष्ट पारेको हो।
साइमेक्स इंकले उपलब्ध गराएको आधिकारिक विवरण अनुसार कोराला भन्सार बिन्दुबाट ६ सय ४९ वटा र रसुवा भन्सार बिन्दुबाट ४ सय ७२ वटा गाडीहरूको भन्सार जाँचपास प्रक्रिया पूर्ण रूपमा सम्पन्न भइसकेको छ। यसबाहेक अन्य २ सय २६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको भए पनि हालसम्म तिनको भन्सार जाँचपास हुन बाँकी रहेको कम्पनीले प्रष्ट पारेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत हुन सक्ने कर परिवर्तनबाट बच्न सरकारी निकायसँग समन्वय गरी अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार र असत्य रहेको कम्पनीले गरेको छ । ‘हाम्रा आयातसम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छन्।’ प्रेस ज्ञिप्तीमा भनिएको छ ‘साइमेक्स इंक कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्दछ र सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू— आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू—सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जानकारी गराउँछ।’
कम्पनीले सत्यतथ्य स्थापित गर्नका लागि जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कागजातहरू उपलब्ध गराउन तयार रहेको स्पष्ट पारे। आधिकारिक अभिलेख र तथ्यहरूको पुष्टि नै नगरी सार्वजनिक रूपमा भ्रम सिर्जना गर्ने उद्देश्यले समाचार सम्प्रेषण नगर्न समेत सञ्चारमाध्यमहरूलाई कम्पनीले अनुरोध गरे।










प्रतिक्रिया