‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्नका लागि मातहतका निकायलाई कडा निर्देशन दिइएको जानकारी गराएका छन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

भिजिट भिसामा विदेश गएर श्रम अनुमति पाएका नेपालीहरूले कामदार भिसा लिन पुनः नेपाल आउनुपर्ने बाध्यता हटाउन सरकारले गृहकार्य गरिरहेको उनले बताए ।

Advertisement

विदेशमै बसेर पनि भिसा कन्भर्ट गर्न सकिने विकल्पका बारेमा श्रम मन्त्रालयले काम गरिरहेको जानकारी उनले संसद्‌लाई दिए ।

बजेटमार्फत मासिक ५० युनिटभन्दा धेरै विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबारे सांसदहरूले प्रश्न उठाएका थिए ।

जवाफमा प्रधानमन्त्री शाहले मुलुकको समग्र विद्युत् प्रणालीको क्षमता अभिवृद्धि गर्नका लागि सो कर लगाउनुपरेको स्पष्ट पारे ।

देश तत्कालै पूर्ण रूपमा विद्युतीय युगमा जान सक्ने अवस्था नरहेको भन्दै उनले वर्तमान भौतिक संरचनाको सीमितिताबारे चर्चा गरे ।

देशका हरेक भान्छामा एकैपटक बिजुलीबाट खाना बनाउन थाल्ने हो भने हाल रहेका ट्रान्सफर्मर र सबस्टेसनको क्षमताले धान्न नसक्ने उनको भनाइ थियो ।

विद्युत् प्रणालीको क्षमता विकास गर्न सरकारलाई ठुलो रकम आवश्यक परेकाले ५० युनिटभन्दा माथिको खपतमा ५ प्रतिशत भ्याट लगाइएको प्रधानमन्त्री शाहले दाबी गरे ।

उपभोक्ताबाट संकलन हुने सो रकमलाई अन्य क्षेत्रमा नभई ऊर्जा पूर्वाधारकै विकासमा खर्च गरिने प्रतिबद्धता उनले जनाए ।

करमार्फत उठेको पैसा देशभरका ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेसनहरूको स्तरोन्नति एवं सुधार गर्न उपयोग गरिने उनले बताए ।

प्रणाली सुरक्षित र भरपर्दो बनाएपछि मात्र सर्वसाधारणले बिनाअवरोध विद्युतीय ऊर्जाको पूर्ण उपभोग गर्न पाउने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री