बाढीले बगाएका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित

विसं २०८१ असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन्। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीले क्षति पुर्याएका यी पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएको हो।

बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। पुल नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती व्यहोर्दै आएका छन्।

चालु आर्थिक वर्षमै ठेक्का आह्वान गरिने

Advertisement

सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी प्रेमनारायण बस्यालले स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षभित्रै ठेक्का आह्वान गरिने बताए। यी बहुवर्षीय योजना भएकाले आगामी आर्थिक वर्षदेखि निर्माणको काम तीव्र रूपमा अघि बढाइने छ।

पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिए ती योजनालाई रोकेर अन्य स्थानको काम अघि बढाइने डिभिजनको तयारी छ। स्रोत सुनिश्चित भएका यी पुलहरूको निर्माण कार्य डेढदेखि दुई वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

कुन-कुन पुल पर्छन् पुनर्निर्माणमा?

बजेट सुनिश्चित भएका पुलहरूमा रोशी गाउँपालिका–३ स्थित पिपलटार सुँगुरेडाँडा, खाक्सी र रोशी–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा) झोलुङ्गे पुल रहेका छन्। त्यस्तै पिप्लेदोभान, रोशी–९ स्थित नार्के र रोशी–७ स्थित कटुञ्जेबेँसी झोलुङ्गे पुल पनि पुनर्निर्माण गरिने छ।

यी पुलहरूका लागि ३ करोडदेखि ५ करोड ५० लाख रुपैयाँसम्मको बजेट स्रोत सुनिश्चित गरिएको छ। यसैगरी वाग्मती नदीको बाढीले बगाएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुलको पनि पुनर्निर्माण गरिने छ।

नागरिकलाई आवतजावतमा सास्ती, बेलीब्रिज राख्न माग

Advertisement

बाढीले पुल बगाएपछि स्थानीय नागरिकले हिउँदमा खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका थिए। अहिले वर्षायाम सुरु भएसँगै खोला बढेकाले एक घण्टा टाढाको गुडिरहेको पुल प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए।

बाढीले बिपी राजमार्गको ३० किलोमिटर सडकसहित ठूलो भौतिक संरचनामा क्षति पुर्याएको थियो। वर्षायाममा राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न रोशी खोलाको मङ्गलटार र काल्धार जोड्ने बेलीब्रिज जडान गर्न सडक विभागसँग अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री