तराईका १४ जिल्लामा तातो लहरको उच्च जोखिम, यस्ता छन् बच्ने उपाय

जल तथा मौसम विज्ञान विभागले तराईका १४ जिल्लामा तातो लहर चल्ने सम्भावना औंल्याउँदै विशेष सतर्कता अपनाउन आह्वान गरेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार अपराह्न विशेष बुलेटिन जारी गरी आगामी तीन दिनसम्म देशका विभिन्न भागमा अत्यधिक गर्मी बढ्ने प्रक्षेपण गरेको हो।

६ प्रदेशका तराई क्षेत्रमा ३८ डिग्रीभन्दा बढी तापक्रम

महाशाखाका अनुसार आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्छ। मौसमविद् सरोज पुडासैनीले बिहीबार भैरहवामा ४१ डिग्री र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको जानकारी दिए।

Advertisement

विशेषगरी मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम खालको तातो लहर चल्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो दिन हुने सम्भावना रहेकाले गर्मीबाट जोगिन विभागले आग्रह गरेको छ।

१४ जिल्लामा उच्च सतर्कता, ७ जिल्लालाई चनाखो रहन आग्रह

विभागले तराईका १४ जिल्लालाई तातो हावा चल्नसक्ने उच्च जोखिमयुक्त क्षेत्रमा राख्दै नागरिकलाई सतर्क रहन भनेको छ। सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी बर्दघाट-सुस्तापश्चिम रहेका छन्।

यसैगरी पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा पनि विशेष सावधानी अपनाउन भनिएको छ। कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट-सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापाका नागरिकलाई भने मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन मौसमविद् पुडासैनीले आग्रह गरे।

तातो लहरका लक्षण र बच्ने उपाय

तातो हावाका कारण शरीरमा थकाई लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने र टाउको दुख्ने जस्ता लक्षण देखिन सक्छन्। यस्तै खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने समस्या समेत आउन सक्ने भएकाले सचेत रहन आवश्यक छ।

Advertisement

गर्मीबाट बच्न अत्यधिक प्रखर घाम लागेका बेला घरबाहिर ननिस्कन र घरभित्रै चिसो स्थानमा बस्न सुझाव दिइएको छ। बाहिर निस्कनै परे हलुका सुतीका कपडा लगाउन, टाउको छोप्न र नियमित रूपमा पानी तथा झोल पदार्थ प्रशस्त पिउन चिकित्सक तथा मौसमविद्ले सल्लाह दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री