
नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको ६९औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। समग्र उत्तीर्ण प्रतिशत ६६.९५ कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित ७६.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
जेठ १२ देखि १५ गतेसम्म संचालित परीक्षामा कुल २ हजार २ सय ६३ परीक्षार्थीमध्ये १ हजार ५ सय १५ जना उत्तीर्ण भए। स्वदेशका मेडिकल कलेजबाट एमबीबीएसतर्फ सहभागी १ हजार २ सय ५४ परीक्षार्थीमध्ये ९ सय ६३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। बिडिएसतर्फ भने स्वदेशमा अध्ययन गरेका ४ सय परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५.७५ प्रतिशत उत्तीर्ण भए।
यस वर्ष एमबीबीएसतर्फ चितवन मेडिकल कलेज (सीएमसी) ९३.१० प्रतिशत नतिजासहित उत्कृष्ट हुन सफल भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशतसहित दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१.६७ प्रतिशतसहित तेस्रो बनेका छन्। बिडिएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए।
विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको छ। भारतमा पढेकाहरूको ४२.३१ प्रतिशत, बङ्गलादेशको ४१.१४ प्रतिशत, फिलिपिन्सको २८.५७ प्रतिशत र चीनमा अध्ययन गरेकाहरूको १५.०४ प्रतिशत मात्र नतिजा आएको छ। भारतबाट बिडिएस पढेर फर्केका १७ विद्यार्थीमध्ये १ जना मात्र उत्तीर्ण भएका छन् भने इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेकाहरूको नतिजा झनै निराशाजनक छ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे विदेशबाट अध्ययन गरी आएकाहरूको नतिजा कमजोर हुनुको मुख्य कारण भाषागत समस्या र पाठ्यक्रमको भिन्नता रहेको बताउँछन्। काउन्सिलले अब सैद्धान्तिकसँगै व्यावहारिक परीक्षाको समेत व्यवस्था गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। एउटै परीक्षाको नतिजाका आधारमा विदेशी शिक्षालाई कमजोर भनेर निष्कर्ष निकाल्न नमिल्ने र काउन्सिल उनीहरूको मनोबल कमजोर बनाउने पक्षमा नरहेको उनले स्पष्ट पारे।








प्रतिक्रिया