
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजना निर्माणका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र कन्सोर्टियममा सहभागी ६ बैंकबिच लगानीसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र प्रवर्द्धक कम्पनीका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यले सम्झौतामा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा सहअगुवाइ तथा सहभागी अन्य बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा बैंकहरूले कुल लागतको ७५ प्रतिशत अर्थात् १९ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । बाँकी २५ प्रतिशत रकम भने संस्थापक तथा अन्य लगानीकर्ताहरूबाट इक्विटीका रूपमा व्यवस्थापन गरिनेछ ।
आयोजनामा अगुवाइ गरेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सहअगुवाइ गरेका सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले ४/४ अर्ब तथा प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
त्यस्तै कन्सोर्टियममा सहभागी कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो आयोजना निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयमै सम्पन्न भई राज्यको ऊर्जा क्षमता बढ्ने विश्वास व्यक्त गरे । यसले देशको विद्युत् निर्यात प्रवर्द्धनमा समेत ठुलो सहयोग पुग्ने उनले बताए ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने यो आयोजनाले मुलुकको ऊर्जा संकट समाधानमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । ठुलो लगानीको यो आयोजनाले स्थानीय स्तरमा रोजगारीका अवसर समेत सिर्जना गर्नेछ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले आफ्ना ३ सय ४४ शाखा, ३ सय ८५ एटिएम र अन्य युनिटसहित १ हजारभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित यस बैंकले विश्वका धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र मलेसियासहित खाडी मुलुकहरूबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया