मानसिक स्वास्थ्यको मुख्य समस्या ‘चिन्ता र उदासिनता’

कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित समन्वय बैठकमा नेपाल र कर्णालीको मानसिक स्वास्थ्य अवस्थाबारे तथ्याङ्क सार्वजनिक गरिएको हो । मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गरे ।

कर्णालीमा यो समस्या व्यापक बन्दै गएको र चालू आर्थिक वर्षको अन्तसम्म मानसिक स्वास्थ्य समस्या देखिनेको सङ्ख्यामा अझ वृद्धि हुने उनले बताए ।

कर्णालीमा महिलाहरू बढी प्रभावित

Advertisement

मन्त्रालयको तथ्याङ्कअनुसार कर्णालीमा ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ हजार ६ सय ८५ र आव २०८०/८१ मा १४ हजार १ सय ८१ जनामा यो समस्या देखिएको थियो । त्यस्तै आव २०८१/८२ मा १५ हजार १ सय २० र आव २०८२/८३ मा ९ हजार ३ सय १९ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

आव २०८१/८२ मा २ सय ३ जनाले आत्महत्याको प्रयास गरेको र ७ हजार ४ सय ८९ जनामा उदासिनता तथा १५ हजार ४ सय ५० जनामा चिन्ता रोग देखिएको थियो ।

रणनीति निर्माण र जनशक्ति व्यवस्थापन

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग रणनीति निर्माण गर्ने देशकै पहिलो प्रदेश भएको बताएका छन् । कर्णालीका ८ जिल्लाका २७ पालिकास्तरमा पनि मानसिक स्वास्थ्य नीति तथा रणनीति बनिसकेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उनले जनाए ।

मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले विशेष जनशक्ति खाली नहुनेगरी प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने र उपलब्ध जनशक्तिको उचित परिचालन गरिने बताएकी छन् । सिएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतले मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि बालबालिका तथा किशोरीलक्षित संरक्षणात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री