जेठ १५ देखि सवारीमा ‘ट्याग’ प्रणाली अनिवार्य, सामान हराए व्यवसायी जिम्मेवार हुने

लामो दुरीका सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको सामान हराउने तथा साटिने समस्या रोक्न नयाँ नियम ल्याइएको छ। देशभर आगामी जेठ १५ गतेदेखि लागू हुने गरी लगेजमा ‘ट्याग’ प्रणाली अनिवार्य गर्न लागिएको हो।

गत जेठ ८ गते ट्राफिक प्रहरी र यातायात व्यवसायीबिच भएको सम्झौता अनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा आउन लागेको हो। लामो दुरीका सवारी साधनमा यात्रुको सामान हराउने, साटिने वा चोरी हुने समस्या बढेपछि त्यसको समाधानका लागि यो कदम चालिएको हो।

व्यवसायीले जिम्मेवारी लिने

Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले जेठ १५ गतेदेखि यसलाई देशव्यापी रूपमा कार्यान्वयनमा लगिने जानकारी दिए। व्यवसायीहरूले यसको तयारी पुरा गरिसकेकाले अब यात्रुको सामानको जिम्मेवारी व्यवसायीले पनि लिने वातावरण सिर्जना हुने उनले बताए।

ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले पनि जेठ १५ देखि यो नियम पूर्ण रूपमा कार्यान्वयनमा आउने जानकारी दिए। कार्यान्वयनको तयारीका लागि जेठ १५ को समयसीमा तय गरिएको उनले स्पष्ट पारे।

काउन्टर र बिच बाटोमै ट्याग

लगेज ट्याग लगाउन बसपार्क वा आधिकारिक काउन्टरबाट टिकट बुकिङ गर्ने यात्रुहरूले टिकट काट्दाकै बखत आफ्नो सामानका लागि ट्याग प्राप्त गर्नेछन्। सामानमा एउटा ट्याग लगाइनेछ भने त्यसको प्रतिलिपि वा अर्धकट्टी यात्रुलाई दिइने व्यवस्था गरिएको छ।

कुनै यात्रुबिच बाटोबाट सवारीमा चढ्छन् भने त्यस्तो अवस्थामा सवारीका चालक वा सह–चालकले नै यात्रुको सामानमा ट्याग लगाइदिनुपर्ने छ। यो व्यवस्थाले मध्यमार्गी यात्रुको सामान पनि सुरक्षित हुने विश्वास गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री