
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १२ वर्ष पुरानो हिपहप गीतलाई महिला विरोधी तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायविरुद्ध घृणा फैलाउने भएको भन्दै शुक्रबार नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।
उक्त गीत हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले प्रस्तुत गरेका थिए । गीतलाई ‘सङ्स नेपाल’ लगायतका युट्युब च्यानलले अपलोड गरेका थिए । उजुरीकर्ताहरूले सो भिडिओलाई युट्युबबाट हटाउन माग गरेका छन् ।
विवेक मगर, रोजी पुन, महिन्द्रसिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दायर गरेको उजुरीमा भनिएको छ, “भिडिओमा बालेन्द्र शाह (बालेन) ले प्रयोग गरेका शब्दहरू महिला विरोधी तथा अपमानजनक छन् साथै यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणात्मक अभिव्यक्ति समावेश गरिएको छ ।”
साइबर ब्यूरोले उजुरी प्राप्त भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरी कारबाही अघि बढाउने जनाएको छ । उजुरीमा ‘सङ्स नेपाल’ युट्युब च्यानलबाट गीत हटाउन र सम्बन्धित सामग्रीमाथि कारबाही गर्न माग गरिएको छ ।







प्रतिक्रिया