आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

Advertisement

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ  र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्नेछ। आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै बाधा पर्न नदिन यो कदम चालिएको उल्लेख छ। 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री