भारतद्वारा एलपिजीमाथिको प्रतिबन्ध फुकुवा, ऊर्जा आपूर्ति सामान्य बन्दै

मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित बनेको ऊर्जा आपूर्ति सहज भएसँगै भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाएको प्रतिबन्ध हटाएको छ। हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएर ऊर्जा आपूर्तिमा सुधार आएपछि भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गर्ने निर्णय गरेको हो।

Advertisement

पेट्रोलियम मन्त्रालयले विज्ञप्ति जारी गर्दै गैर–घरेलु प्याक गरिएको एलपिजीमाथिको प्रतिबन्ध हटाई पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ। मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपिजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ।

विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपिजीको दोस्रो ठूलो आयातकर्ता राष्ट्र हो। भारतमा प्रयोग हुने अधिकांश एलपिजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले त्यहाँको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो।

विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो। इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको हो।

ऊर्जा सङ्कटका क्रममा सरकारले लाखौँ परिवारले प्रयोग गर्ने एलपिजीको मूल्यसमेत बढाएको थियो। युद्धका कारण आपूर्ति शृङ्खलामा आएको दबाब कम गर्न भारतले गत महिना करिब ४ अर्ब अमेरिकी डलर बराबरको कोइला ग्यासीकरण विस्तार योजनासमेत स्वीकृत गरेको थियो।

खाडी क्षेत्रका आपूर्ति मार्गमा आएको अवरोधले भारतको ऊर्जा सुरक्षामात्र नभई, समग्र अर्थतन्त्र र आर्थिक वृद्धिदरका अनुमानमा समेत दबाब सिर्जना गरेको थियो। अहिले ऊर्जा आपूर्ति सुधार भएसँगै सरकारले बजारलाई क्रमशः सामान्य अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री