बुधबार, २६ वैशाख २०८१

‘निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार’

समयपोष्ट २०७४ मंसिर २० गते १२:१८

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको स्पष्ट पारेका छन् । उनले भने,‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिईएको छ।’
निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । मन्त्री प्रधानले थपे,‘भोलि हुने निर्वाचनमा अत्यधिकभन्दा अत्यधिक मात्रामा सहभागिता होस्।’
उनले अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाईएको बताए । 
उनले भने,‘नेपाली सेना हाई अलर्टमा छ, हामीले निर्वाचन सुरक्षा बलियो बनाएका छौं, कहीँकतै घट्ना भए त्यसलाई हल गर्नको लागि सरकारले आवश्यक निर्देशन दिएको छ, गोली चलाउने आदेश दिएका छौं।’ भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए । त्यस्तै पहिलो र दोस्रो चरणको निर्वाचन गरेर ६४ हजार २० सेना परिचालन हुने पनि उनले जनाए । 
मन्त्री प्रधानले भोलि हुने निर्वाचनमा साम, दाम, दण्ड र भेदबाट मुक्त भएर मतदान गर्न समेत आम मतदाताहरुलाई आग्रह गरे । नेपाली जनताले ७० वर्ष लगाएर संविधान पाएको भन्दै उक्त उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि यो निर्वाचन अत्यन्तै महत्वपूर्ण भएको उनको भनाई थियो । उनले भने,‘हिजोको झापा विद्रोहको झापाली माले, जनयुद्ध गरेको नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा–प्रजातान्त्रिक र तराई मधेशका पार्टीहरु पनि चुनावमा सहभागी हुनुभएको छ, उहाँहरु मुलधारमा आउनुभएको छ, यो सफलता हो।’
निर्वाचन स्वतन्त्र, भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सुरक्षा निकायहरु प्रिचालित भैसकेको जनाउँदै उनले भने,‘निर्वाचनको मुखमा भएका थुप्रै घट्नाहरु हामीले निस्तेज पारेका छौं, केही दिनअघिमात्रै गगन थापामाथि हमला भयो, मेरो निवासमापनि प्रेसर कुकर राखियो, भय उत्पन्न गराउन यस्तो गरियो, नेपाल सरकारले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण निकाय परिचालन गरिसकेका छौं । हेलिकप्टरमार्फत पनि अनुगमन भैरहेको उनले जनाए । 
मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराईकन निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् । “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा शशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छ,”– उनले भने । 
मन्त्री प्रधानले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको बताए । जनताको मतबाट बनेको संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन हुन लागेकाले जनता निर्वाचनप्रति उत्साहित भएको मन्त्री प्रधानले बताए । 
नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले लोकतन्त्रको रक्षाका लागि निर्वाचन भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाई गर्न सरकारसँग आग्रह पनि गरे । 
निर्वाचन सफल रुपमा सम्पन्न भएर नयाँ लोकतान्त्रिक सरकार बनोस् भन्ने उनको कामना थियो । उनले थपे,‘नयाँ सरकारले धेरै काम गर्नुपर्छ, संविधानले देखाएको बाटोमा हिँड्नुपर्छ, त्यसैले अब बन्ने सरकार लोकतान्त्रिक होस, यदि निरंकुशतावादी सरकार बन्यो भने हामी सडकमा आउँछौं, नेपाल बार जहिलेपनि वाचडगको रुपमा रहेको छ।’ 
केसीले संविधानको सफल कार्यान्वयनमा बार एशोसियसनको पूर्ण साथ र सहयोग रहनेपनि विश्वास दिलाए । उनले थपे,‘यो संविधानमा सबै नेपालीहरुको रगत, पसिना बगेको छ, त्यसैले यसको अक्षरंश पालना हुनुपर्छ।’
निर्वाचनको सम्पूर्ण तयारी आयोगले सम्पन्न गरेपनि मतपत्रमा आयोग चुकेको गुनासो पोखे । उनले भने,‘आयोगले चारवटा बाकस राख्यो, मतपत्र एउटै हुँदा द्धिविध छ, आयोगले यो विषयमा ईगो लियो।’ त्यस्तै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउनको लागि आफूहरुले आयोगसँग सहकार्य गर्न आग्रह गर्दापनि वास्ता नगरिएको भन्दै दुःख व्यक्त गरे । 
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले पार्टीका नेता भन्दापनि विकासप्रेमी नेतालाई मतदान गर्नुपर्ने बताए । “पार्टीका नेता भन्दापनि असल र विकास गर्ने नेतालाई मतदान गर्नुहोस्,”– डा. दिक्षितले भने । 
भोलि हुने निर्वाचन मुलुकलाई अघि बढाउनको लागि महत्वपूर्ण कसी हुने समेत उनको भनाई थियो । यद्धपी निर्वाचनको लागि वातावरण सहज नभएकोप्रति उनको गुनासो छ । उनले भने,‘तर जनता सचेत हुनुहुन्छ, उर्लिएर मदतान गर्नुहुन्छ, गर्नुपर्छ पनि।’ उनले अबको निर्वाचनमा जनतामा भिजेको, विकासप्रेमी र भ्रष्टाचारमा नमुछिएको व्यक्तिलाई विजयी गराउन समेत मतदाताहरुसँग अपिल गरे । 
उनले थपे,‘संसदमा असल व्यक्ति आउनुपर्छ, अहिलेसम्म जे जति सरकार बने, तीनले सुशासन दिन सकेका छैनन, दलहरु सिद्धान्तमा अडिएका छैनन्, स्वार्थ नभएको व्यक्ति अब सदनमा जानुपर्छ।’ भोलिको निर्वाचनको लागि सुरक्षाको बलियो प्रबन्ध भएपनि जनता आँफैपनि सतर्क हुनुपर्ने दिक्षितले सुझाव दिए । 
उनले नेपाल अहिले विकाउमा रहेको समेत गुनासो पोख्दै भने,‘तपाई आम मतदाताहरु अब यो गठबन्धन वा त्यो गठबन्धन भनेर पछि नलाग्नुहोस्, असल मान्छे चुनेर पठाउनुहोस्, कुहिएको व्यक्ति नछान्नुहोस्।’ 
नेपाल सरकारका पूर्वसचिव दिवाकर पन्तले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले उत्साहपूर्ण रुपमा आफ्नो मताधिकार प्रदान गर्न सबैसँग अनुरोध गरेका छन् । 
उनले लोकतन्त्रको लागि पनि चुनाव आवश्यक भएकोले भोलि हुने मतदानमा जनता उत्साहपूर्वक रुपमा सहभागी हुने विश्वास व्यक्त गरे । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री