ऊर्जा समृद्धिको एजेन्डासहित इप्पानको महासचिवमा टीएन आचार्यको उम्मेदवारी

जलविद्युत् उद्यमी टीएन आचार्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। वित्त, पूर्वाधार तथा ऊर्जा विकास क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव बोकेका उनी हाल इप्पानकै निर्वाचित कार्यकारी समिति सदस्य हुन्।

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा जन्मेका आचार्यले महेन्द्र बहुमुखी क्याम्पसबाट बीकम अध्ययन गरी क्याम्पस टपर बनेका थिए। सन् २००३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेपछि उनी वित्तीय संरचना निर्माण, परियोजना परामर्श, लेखापरीक्षण तथा लगानी व्यवस्थापनमा सक्रिय छन्।

जलविद्युत् क्षेत्रमा व्यावसायिक नेतृत्व

Advertisement

आचार्य हाल ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत् आयोजनाको प्रवर्द्धक तथा भिजन एनर्जी एन्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष हुन्। उनले छ्याङ्दी जलविद्युत् अन्तर्गतका २ मेगावाट र ४ मेगावाट क्षमताका आयोजनाको निर्माण तथा सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरिसकेका छन्।

यसका साथै उनी ९७.२ मेगावाटको इसुवा खोला, ४८.८ मेगावाटको खिम्ती दोस्रो, ३८.४६ मेगावाटको माथिल्लो कालङ्गा गाड र ४०.२७ मेगावाटको सुपर न्यादीसहित दर्जनौँ आयोजनामा सक्रिय रूपमा संलग्न छन्। ४६.९ मेगावाटको तमोर खोला-५, २४.८८ मेगावाटको लुजा खोला, ३७ मेगावाटको माथिल्लो म्याग्दी, २१ मेगावाटको पालुन खोला र २४ मेगावाटको मदमे खोला आयोजनामा पनि उनको सहभागिता छ।

६.८२ मेगावाटको हिदी खोला, १५.३३ मेगावाटको कालङ्गा गाड, ७.२ मेगावाटको श्याम खोला, १०.७ मेगावाटको माथिल्लो सानिगाड, ४.७२ मेगावाटको माथिल्लो पिलुवा, ९.०५ मेगावाटको सुपर चेपे, १० मेगावाटको सिद्धि खोला र ४.३ मेगावाटको फेदीखोला लगायतका सयौँ मेगावाट क्षमताका जलविद्युत् परियोजनामा उनी जोडिएका छन्। टीएन आचार्य एन्ड कम्पनीमार्फत उनले विभिन्न बैंक, सार्वजनिक संस्था तथा विकास सङ्गठनहरूलाई वित्तीय परामर्श सेवा समेत दिँदै आएका छन्।

शासकीय र संस्थागत अनुभव

आचार्यले नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल दूरसञ्चार प्राधिकरण तथा नागरिक लगानी कोषको सञ्चालक समितिमा रहेर सेवा प्रदान गरिसकेका छन्। उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पार्षद सदस्य तथा नेपाल लेखापरीक्षणमान बोर्डका पूर्व सदस्य समेत हुन्।

Advertisement

व्यावसायिक जीवनका अतिरिक्त गीतकार, फिल्म निर्माता तथा समसामयिक लेखनमा समेत उनी उत्तिकै सक्रिय छन्। जलविद्युत्, सुशासन तथा राष्ट्रिय विकासका विषयमा नियमित विचार प्रस्तुत गर्ने उनी व्यावसायिक निष्ठा र सामूहिक नेतृत्वमार्फत दिगो विकास गर्ने लक्ष्य राख्छन्।

चुनावी एजेन्डाहरू

महासचिव पदका उम्मेदवार आचार्यले इप्पानलाई संस्थागत रूपमा सुदृढ बनाउँदै ऊर्जा समृद्ध नेपाल निर्माण गर्ने मुख्य एजेन्डा अघि सारेका छन्। उनले जलविद्युत् तथा ऊर्जा क्षेत्रको दिगो विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

सुशासन, पारदर्शिता र व्यावसायिक निष्ठालाई प्राथमिकता दिँदै उनले वित्तीय पहुँच तथा नवीन लगानी संरचना तयार गर्ने बताए। नयाँ पुस्ता र उद्यमशीलताको प्रवर्द्धन गर्ने तथा सदस्यहरूको हित संरक्षण र प्रतिनिधित्वलाई बलियो बनाउने उनको योजना छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री