
आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ। ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ।
विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मंगलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए। कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभई केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको उनले बताए।
विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको गियुलियानीले बताए। सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको उनको भनाइ छ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे। यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिएको ती अधिकारीले बताए।
सन् २ हजार २५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो। तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो।
सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो। ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ।
संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ। इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ।
गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए। यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको र ती व्यक्तिबारे विस्तृत जानकारी दिन उनले अस्वीकार गरे।
राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहेको गियुलियानीले उल्लेख गरे। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा प्रशासन सचेत रहेको उनले बताए।
विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए। अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए।








प्रतिक्रिया