
फिफा विश्वकप २०२६ को उद्घाटन समारोह यस पटक ऐतिहासिक र निकै भव्य हुने भएको छ।
मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा आयोजना हुन लागेको यो प्रतियोगिताको उद्घाटन समारोह पनि तीनवटै देशमा छुट्टाछुट्टै तर एउटै साझा विषयवस्तुमा आधारित भएर सञ्चालन गरिनेछ।
सीमापारिका मानिसहरूलाई फुटबलले कसरी एकजुट बनाउन सक्छ भन्ने सन्देश दिनका लागि यी समारोहहरू केन्द्रित रहनेछन्। ओलम्पिकका धेरै उद्घाटन समारोहहरूमा रचनात्मक निर्देशक रहिसकेका मार्को बालिचले यस पटकको विश्वकप उद्घाटन समारोहको निर्माण गरिरहेका छन्।
प्रत्येक आयोजक राष्ट्रमा हुने उद्घाटन खेल सुरु हुनुभन्दा ठीक ९० मिनेट अगाडि उद्घाटन समारोह सुरु हुने तालिका तय गरिएको छ। जसअन्तर्गत मेक्सिको सिटीमा हुने पहिलो समारोह करिब १६ मिनेट ३० सेकेन्डसम्म चल्ने अनुमान छ। क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा आयोजना हुने बाँकी दुई कार्यक्रम भने करिब १३ मिनेट चल्ने तय भएको छ। यी प्रस्तुतिहरू सकिएपछि खेलाडीहरूलाई मैदानमा वार्मअपको समय दिइनेछ र खेल सुरु हुनुभन्दा २५ मिनेट अगाडि म्याचडे प्रोटोकल अनुसारका बाँकी कार्यक्रमहरू हुनेछन्।
मेक्सिकोमा शाकिरा र बर्ना ब्वाईको मुख्य प्रस्तुति
उद्घाटन समारोहमा प्रत्येक आयोजक राष्ट्रले आफ्नो छुट्टै सांस्कृतिक पहिचान र दृश्य शैली प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रतियोगिताको पहिलो समारोह मेक्सिकोमा आयोजना हुनेछ, जसको नेतृत्व विश्वप्रसिद्ध गायिका शाकिरा र एफ्रोबिट्स स्टार बर्ना ब्वाईले गर्नेछन्। उनीहरूले फिफा विश्वकपको आधिकारिक गीत ‘दाइ दाइ’ पहिलो पटक प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने तालिका छ। यस समारोहमा टाइला, जे बाल्विन, माना, अलेजान्ड्रो फर्नान्डेज र लोस एन्जेलेस अजुलिस जस्ता कलाकारहरू पनि सहभागी हुनेछन्।
मेक्सिकोको समारोहको कलात्मक विषयवस्तु त्यहाँको परम्परागत सजावट कला ‘पापेल पिकाडो’ (कागज काटेर बनाइने कला) बाट प्रेरित रहनेछ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यी समारोहहरूले सङ्गीत, संस्कृति र फुटबललाई एकै ठाउँमा ल्याएर विश्वव्यापी उत्सवको शक्तिशाली सुरुवात गर्ने बताए।
क्यानडा र अमेरिकामा हुने उत्सव
क्यानडाले आफ्नो बहुसांस्कृतिक विविधता र वैश्विक पहिचानलाई उद्घाटन समारोहको मञ्चमा विशेष रूपमा उतार्नेछ। यस कार्यक्रमको नेतृत्व क्यानडाका सङ्गीत आइकन माइकल बुब्ले र एलेनिस मोरिसिटले गर्नेछन्। उनीहरूलाई एलेसिया कारा, जेसी रेयेज र एलियाना जस्ता कलाकारहरूले साथ दिनेछन्।
अमेरिकाको लस एन्जलसमा हुने समारोह भने विश्वकप ट्रफीको भविष्यमुखी व्याख्यामा आधारित हुनेछ, जसलाई बालिचले ‘अत्यन्तै चम्किलो र उज्यालो’ बनाउने योजना बुनेका छन्। यस समारोहमा पप सुपरस्टार केटी पेरी, र्यापर फ्युचर, लिसा, ब्राजिलियन कलाकार अनित्ता र नाइजेरियन स्टार रेमाले आफ्नो प्रस्तुति दिनेछन्। दक्षिण अफ्रिकी गायिका टाइलाले मेक्सिको र अमेरिका दुवै देशको उद्घाटन समारोहमा प्रस्तुति दिने अवसर पाएकी छिन्।
पहिलो दिनका खेलहरू
उद्घाटन समारोह सकिएलगत्तै बिहीबार, जुन ११ तारिखमा पहिलो खेल मेक्सिको सिटी स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। यो खेलसँगै दक्षिण अफ्रिकाको टोलीले फुटबलको सबैभन्दा ठुलो मञ्चमा पुनरागमन गर्दैछ, जसलाई अर्बौँ दर्शकले हेर्ने अनुमान गरिएको छ। गायिका टाइलाको उपस्थितिले दक्षिण अफ्रिकाको प्रतिनिधित्व मैदान र मनोरञ्जनको मञ्च दुवैतिर देखिनेछ।
दोस्रो खेलमा क्यानडाले टोरन्टोमा बोस्निया र हर्जगोभिनाको सामना गर्नेछ, जुन क्यानडाको पुरुष टोलीका लागि घरेलु मैदानमा पहिलो ऐतिहासिक विश्वकप खेल हुनेछ। तेस्रो उद्घाटन खेलमा अमेरिकाले लस एन्जलसमा पाराग्वेको सामना गर्ने तय भएको छ।एजेन्सी








प्रतिक्रिया