नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्वाचित

नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन्।

Advertisement

जेठ २५ गते सोमबार सम्पन्न संघको नवौं र दशौं वार्षिक साधारण सभाबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्षसमेत रहेका मुल अध्यक्ष पदमा चयन भएका हुन्।

यसअघि संघको उपाध्यक्ष रहेर काम गरेका उनको नयाँ कार्यकाल आगामी दुई वर्षको हुनेछ। नयाँ कार्यसमितिको उपाध्यक्षमा युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ र महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन भएका छन्।

Advertisement

यसैगरी कोषाध्यक्षमा नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला तथा सदस्यहरूमा सानिमा जिआईसीका अध्यक्ष कुनाल कयाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सञ्चालक पवन अग्रवाल नियुक्त भएका छन्। सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ।

बहुआयामिक अनुभव र आगामी प्रतिबद्धता

निर्जीवन बीमा क्षेत्रमा दुई दशक लामो अनुभव हासिल गरेका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तहका स्वर्णपदकधारी हुन्। बीमा क्षेत्रका साथै विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत उनले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

मुल हाल नेपाल कागज व्यवसायी संघका अध्यक्ष, नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी सदस्य र नेपाल टेनिस संघको अध्यक्षसमेत रहेका छन्। उनी २०७९ साल फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षका रूपमा कार्यरत छन्।

निर्वाचनपश्चात् प्रतिक्रिया दिँदै अध्यक्ष मुलले नेपालको निर्जीवन बीमा व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी, स्वच्छ तथा प्रतिस्पर्धी बनाउन आफू प्रतिबद्ध रहने बताए। बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि, व्यवसाय विस्तार तथा सरोकारवालाबीचको सहकार्यलाई सुदृढ बनाउने दिशामा संघले प्रभावकारी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

नेपाल निर्जीवन बीमा व्यवसायी संघ नेपालको निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूको साझा हित, समन्वय र व्यावसायिक विकासका लागि स्थापित प्रतिनिधिमूलक संस्था हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री