बिहीबार, १५ चैत २०८०

साग महिला फुटबल : भारतसँग नेपाल पराजित

rss २०७६ मंसिर २१ गते १८:१३

Advertisement

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा आज लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो ।

लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो । भारतको जितमा खेलको पहिलो हाफको १८औँ मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोष्टको दिशा दिएकी थिइन् । खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले आज खुलेर खेल्ने मौका नै दिएनन् ।

समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मङ्सिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य भएको बताउँदै फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताउनुभयो ।

भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण रहेको प्रतिक्रिया दिनुभयो । महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ ।

यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री