गंगा हेल्थ केयरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
साना तथा मझौला कम्पनीको श्रेणीमा पर्ने श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डद्वारा जारी “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” बमोजिम कम्पनीले शेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।
यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा गंगा हेल्थ केयर इण्डष्ट्रिजका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने जनाएको छ।
वि.सं. २०५५ (सन् १९९८) मा गंगा ब्याण्डेज उद्योग प्रालिका रूपमा स्थापना भई हाल गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेड नामक कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ मा आफ्नै उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले कच्चा पदार्थ आयात गरी प्रशोधनमार्फत करिब ७० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुने किसिमका स्वास्थ्य सामाग्री उत्पादन गर्दै आएको छ।
मानव स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कम्पनीले ड्रेसिङ ब्याण्डेज, एब्जर्बेन्ट कटन, एब्जर्बेन्ट गज, क्रेप ब्याण्डेज, डिस्पोजेबल मास्क र टेट्रा गजजस्ता सर्जिकल सामग्री उत्पादन गर्दै आएको छ। निकट भविष्यमा भने क्यानुला फिक्सेटर, इलास्टिक एडहेसिभ ब्याण्डेज, डिस्पोजेबल डायपर, सिरिन्ज, परिक्षण ग्लोभ्स र स्टेरिलाइज्ड गज उत्पादन गर्ने दीर्घकालीन योजना रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया