सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव: सामाजिक उत्तरदायित्व र सांस्कृतिक एकताको उत्सव
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा सामाजिक उत्तरदायित्व (CSR) गतिविधिहरूसहित भव्य रूपमा मनाएको छ। जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै विश्वास र साथको मन्त्रलाई आत्मसात् गरेको यस कम्पनीले स्थापनाकालदेखि नै समाजप्रति उत्तरदायी संस्था बन्ने लक्ष्य बोकेर अघि बढिरहेको छ।
यस वर्षको वार्षिकोत्सवको मुख्य विषयवस्तु “विविधता र समावेशीकरण दिवस” रहेको छ। कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरूमा कर्मचारीहरूले आफ्नो सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परालाई प्रस्तुत गर्दै एकता, सद्भाव र आपसी सम्मानको सन्देश प्रवाह गरेका छन्। यो पहलले सिटिजन लाइफ परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई थप मजबुत बनाएको छ।
सिटिजन लाइफले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै देशभर विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको छ। कम्पनीले १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्याली र घर-घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण, ७ स्थानमा ३५० बिरुवा रोपण, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर र १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। यी गतिविधिहरूले समाज र वातावरणप्रति कम्पनीको प्रतिबद्धता स्पष्ट रूपमा झल्काएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने, “हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव मात्र होइन, यो समाजसँगको हाम्रो गहिरो सम्बन्धलाई पुनः पुष्टि गर्ने अवसर हो। हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवालाई विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ अघि बढिरहेका छौं।”
विगत आठ वर्षको यात्रामा सिटिजन लाइफले ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो प्रमुख बलको रूपमा अंगीकार गरेको छ। कम्पनीले बीमा सेवाको पहुँच विस्तार, डिजिटल प्रणालीको सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। आगामी दिनमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
कम्पनीले आफ्नो प्रगतिमा साथ दिने सम्पूर्ण ग्राहक, व्यवसायिक सिटिजन लिडरहरू, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, सञ्चारकर्मी, व्यवसायिक साझेदार, कर्मचारी र शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। कम्पनीले समयानुकूल सेवा सुधार, प्रचलित कानुन र नियमनकारी निर्देशनको पालना, र सञ्चालक समितिको मार्गदर्शनमा संस्थागत सुशासन कायम राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन टोली पूर्ण रूपमा कटिबद्ध रहेको जनाएको छ।
यस अवसरमा सिटिजन लाइफले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।
प्रतिक्रिया