साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।
पछिल्ला दुई कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको नेप्सेले यो क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २,४८७.१७ विन्दुमा झरेको छ। यद्यपि, परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। बुधबार ३ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा बिहीबार ३११ कम्पनीका ३६,५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
हिमालयन पावर पार्टनरको शेयर मूल्य बिहीबार सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ। यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.५ प्रतिशतभन्दा बढी उकालो लागेको छ। तर, अन्य कम्पनीहरूको शेयर मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। अर्कोतर्फ, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको १५ करोड ३० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्टको कारोबार ११ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ। यता, अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ। विकास बैंक, वित्त, र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
प्रतिक्रिया