‘धेरै घुमियो, अनि लेखियो अब माओत्सेतुङको शव हेर्ने रहर छ’

श्याम रिमाल

Advertisement

काठमाडौं– यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः (भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लागेका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुगे । उनी र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरु मात्र जमघट गराई उनले बधाई र शुभकामना थापे । यसै वर्ष उनको साहित्य लेखनको ५५ वर्ष पनि पुग्दैछ ।

उनी हालसम्म एसिया, युरोप र अमेरिकाका २० भन्दा बढी राष्ट्र पुगे भने छिमेकी देश चीन पुग्न पनि तीव्र लालायित छन् । जहाँ टेके पनि नियात्रा लेख्ने उनी ल्हासा मात्र जाने निमन्त्रणा आए पनि त्यहाँ जानुभएको छैन । स्वदेशभन्दा उनलाई बढी विदेशकै यात्राले बढी तानेको छ । संयोग र व्यावसायिक काम पनि त्यस्तै प¥यो उनलाई । कति देश घुमियो भनी कण्ठस्थ भन्न पनि सक्दैनन् । उनको पहिलो नियात्रा कृति ‘विदेशको यात्रा स्वदेशको सम्झना’ (२०३७) यति लोकप्रिय भइदियो कि उनी आफैँ प्रकाशक रहेको सो कृतिको सातौँ संस्करण प्रकाशन भइसकेको छ । सरल भाषाशैली, तीव्र अनुभूति र कौतुहलता तथा पाठकलाई लेखकले घुमेको स्थानमा लान सक्ने विशेषता सो कृतिको भएको भनी आफूले पाठकको प्रतिक्रिया पाएको लेखक बताउँछन् ।

यात्रा विवरणमा निजी अनुभूति घोलिने नियात्रालाई लोकप्रिय बनाएका लेखकका नियात्रासम्बन्धी मात्रै नेपाली र अङ्ग्रेजी गरी छ कृति प्रकाशित छन् । ‘विदेशको यात्रा स्वदेशको सम्झना’, ‘देशप्रदेशको भ्रमण’ २०४३ (तेस्रो संस्करण), ‘बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म’ २०६० (तेस्रो संस्करण) ‘यात्रा अमेरिकाको माया नेपालको’ २०६९ (तेस्रो संस्करण), ‘यात्राको लहरीमा हिउँफूलकी रानी’ २०७४ र ‘माइ ट्राभल्स इष्ट एण्ड वेष्ट’, सन् २०१३ (विसं २०७०) नियात्रा कृतिमध्ये ‘यात्राको लहरीमा…’(डिकुरा प्रकाशन) ले त रु एक लाखको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार पनि जितेको छ । त्यसो त उनले संस्कृति मन्त्रालयबाट प्रदान गरिएको रु एक लाखको महाकवि देवकोटा पुरस्कार २०७१ र एक लाखकै शमी साहित्य साधना सम्मान २०७३ लगायत करीब दुई दर्जन सम्मान, पुरस्कार एवं पदक पनि पाइसकेका छन् ।

बौद्धदर्शन, उद्यम र लेखनलाई एकसाथ अप्नाएका राजकर्णिकार लेखनले नै आफूलाई समाजमा चिनाएको बताउँछन् । विशेष गरी व्यावसायिक कामको सिलसिलाले विदेशमा पु्¥याए पनि त्यसलाई लेखनमा उतारी शुरुशुरुमा आफैँ प्रकाशक बनी प्रकाशन गर्न पाएकाले कृति बजारमा आउन सकेकामा उनी गौरव गर्व गर्छन् । ‘पैसा नभएको भए कृति पनि कहाँ निक्लन्थ्यो र ?’ उनी आफैँसँग प्रश्न गर्छन् । उनका ‘केही चिन्तन केही मन्थन’ (२०३५), ‘सम्झनाको लहरमा लहरिँदै जाँदा’ (२०५२), ‘पवित्र सम्झना आमाको’ (२०५५), ‘गजराज राजकर्णिकारको वंशावली’ (२०६१), ‘अनुभव र अनुभूतिमा घनश्याम राजकर्णिकार’ (२०६२), ‘बुद्धज्योतिका केही रश्मि’ (२०६४) कृति र ‘बुद्धको सम्झना कल्याणको कामना’ (२०३९) सम्पादित कृतिले पनि उनलाई विशिष्ट पहिचान दिलाएका छन् ।

Advertisement

बिहानको समय योग, विपश्यना ध्यान, संस्कार च्यानलमा अध्यात्म विषय र युट्युबाट बौद्ध प्रवचन श्रवण गर्ने राजकर्णिकार प्रातःभोजनपछि १० बजे कृष्ण पाउरोटी भण्डार प्रालिको आफ्नो कारखानामा नित्य पुगी २ बजेसम्म रेखदेख गर्छन्, जहाँ धर्मपत्नी शान्ता तथा पाँच छोरीहरु रीना ताम्राकार, दीपा ताम्राकार, प्रज्ञा श्रेष्ठ, सृष्टि श्रेष्ठ र पूजा शिख्राकार सञ्चालक र प्रबन्धक रही आफ्नो कम्पनीलाई अघि बढाइरहेका छन् । कारखानामा पाउरोटी, केक, कुकिज, पेस्ट्री आदिका मात्र ६०–७० आइटमहरु बन्छन् । दिउँसो बाहिरी काम र साहित्यिक कार्यक्रमहरुमा पुग्ने उनी बेलुकी मात्र लेखपढमा लाग्छन् ।

उनले घुमेका देशमा मन परेकामा जापान, अमेरिका र सिङ्गापुर, शहरमा टोक्यो, हिरोशिमा, न्यूयोर्क, चेन्नई, पुने, पेरिस र लण्डन, विदेशी खानामा साउथ इण्डियन खाना, पिजा, ब्रेड बटर, ब्राउन ब्रेड, मल्टीग्रेन ब्रेड, हाइ फाइबर कुकिज, चिज केक, ब्ल्याक फरेष्ट पेष्ट्री, पेय पदार्थमा अमेरिकी मिल्क कफी र क्यापाचिनो कफी, वेशभूषामा जापानी किमोनो लागेको छ । ‘अमेरिकीहरु फ्रेण्डली पाएँ, जापानीहरु रमाइला लागे, जर्मनहरु कर्तव्यनिष्ठ र डेनिसहरु फुर्तिलो पाएँ’, उनले भने । नेपालका कमै ठाउँमा पुगेका उनी पोखरा, अन्नपूर्ण, लुम्बिनी र नगरकोट मन पराउँछन् । आफन्तहरुसँग सम्पत्तिका मामिलामा निकै उतारचढाव, तनाव र द्वन्द्व भोग्नुभएका राजकर्णिकार विपश्यना ध्यानले नै आफूलाई हृदयाघातबाट जोगाएको जिकिर गर्छन् । विपश्यनापछि माछामासु छाडेका उनी उच्च रक्तचाप र मधुमेहले नछुँदा भने सन्तोष व्यक्त गर्छन् ।

‘मनमा शान्ति लिन सकूँ, लोभ गर्न नपरोस्, लिनुभन्दा दिन सकूँ, बुद्धको शिक्षा पालना गर्न सकूँ’, कृष्ण पाउरोटी भण्डार प्रालि र बौद्ध प्रवचन समाजका अध्यक्ष राजकर्णिकार कामना गर्छन् । उनी हाल घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र पाउरोटीका अग्रणी मेरा पिताजी दुई कृति प्रकाशनको तयारीमा रहेका छन् । सके नियात्रा पुरस्कार र घनश्याम राजकर्णिकार फाउण्डेशन खडा गर्ने सोचमा छन् । ‘मलाई अब घुम्न पुग्यो, चीनको ग्रेटवाल र नेता माओत्सेतुङको शव हेर्ने रहर चाहिँ खूबै छ । धेरै घुमियो, धेरै देखियो, लेख्नचाहिँ कहिल्यै छाड्दिन’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री