
मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाउँदै शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्।
दुई साताअघिसम्म १ सय रुपैयाँमा साढे दुई केजी बिक्री भइरहेको आँप अहिले प्रतिकेजी १ सय रुपैयाँ पुगेको छ। किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाए पनि आफूहरूले त्यसको लाभ नपाएको किसानको गुनासो छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि किसानबाट सस्तोमा खरिद गरी महँगोमा बिक्री भइरहेकाले बजार अनुगमन आवश्यक रहेको बताए। असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानहरू बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने गरेका छन्।
मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले किसानको यही बाध्यताको फाइदा उठाएर व्यापारीले कम मूल्यमा खरिद गर्ने गरेको बताए। शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण उत्पादनको उचित मूल्य नपाइरहेकाले सरकारी पहल आवश्यक रहेको उनको भनाइ छ।
आँप व्यापारीका अनुसार बजारबाट बम्बई जातको आँप लगभग सकिइसकेको छ। अहिले बजारमा उपलब्ध रहेको मालदह आँप पनि अब करिब १० दिनसम्म मात्रै पाइने व्यापारीहरूले बताएका छन्।
यो जातको आँप सकिएपछि मात्रै बजारमा कलकत्तिया र आम्रपाली जातका आँप आउने व्यवसायीहरूको भनाइ छ।









प्रतिक्रिया