
विश्वकप फुटबल खेलाउने मुख्य रेफ्रीहरूले यसपटक विगतको तुलनामा निकै भारी रकम बुझ्ने भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रतियोगितामा सहभागी भएबापत मात्रै प्रत्येक मुख्य रेफ्रीले करिब १ लाख अमेरिकी डलर अर्थात् १ करोड ५२ लाख नेपाली रुपैयाँ पाउनेछन्।
यो रकम सन् २०१४ को विश्वकपको तुलनामा दोब्बर हो भने सन् २०२२ को कतार विश्वकपको ७० हजार डलरभन्दा निकै बढी हो। फिफाले यसपटक ५२ मुख्य रेफ्री, ८८ सहायक रेफ्री र ३० भीएआरसहित कुल १ सय ७० म्याच अफिसियल मैदानमा उतारेको छ।
एकमुष्ट रूपमा पाइने सुरुवाती पारिश्रमिकबाहेक रेफ्रीहरूले मैदानमा खेलाएको प्रत्येक खेलको छुट्टै भत्ता पाउनेछन्। समूह चरणका खेलहरूमा प्रति खेल ३ हजारदेखि ५ हजार डलरसम्म कमाएका रेफ्रीहरूले नकआउट चरणमा प्रति खेल १० हजार डलर पाउने गरेका छन्।
पूर्वप्रिमियर लिग रेफ्री मार्क क्ल्याटनबर्गका अनुसार जुलाई १९ मा हुने फाइनल खेलको जिम्मेवारी पाउने रेफ्रीले ६० हजारदेखि ७० हजार डलरसम्म अतिरिक्त बोनस पाउनेछन्। यसरी सुरुदेखि अन्तिमसम्म उत्कृष्ट प्रदर्शन गर्ने रेफ्रीले कुल ३ लाख डलरसम्म आम्दानी गर्न सक्नेछन्।
मुख्य रेफ्रीको तुलनामा सहायक रेफ्रीहरूको आम्दानी भने केही कम हुने देखिएको छ। सहायक रेफ्रीहरूले प्रतियोगिताभरिको एकमुष्ट पारिश्रमिकबापत करिब २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
त्यस्तै खेलमा प्राविधिक सहयोग पुर्याउने भिडियो म्याच अफिसियल (भीएआर) का लागि पनि फिफाले विशेष पारिश्रमिक तोकेको छ। अष्ट्रेलियाका जारेड गिलेट जस्ता भीएआर विज्ञहरूका लागि छुट्टै विशेष आर्थिक व्यवस्था गरिएको समाचारमा उल्लेख छ।









प्रतिक्रिया