प्याराग्वेको ‘डार्क आर्ट’: एक जना घाइते नभै फ्रान्सेली टोलीले यसरी निकाल्यो जित

“प्याराग्वेका खेलाडीहरूले एकदमै लज्जास्पद व्यवहार देखाए,” इंग्ल्यान्डका पूर्वगोलकिपर जो हार्टले बीबीसी वनसँग भने, “यदि तिनीहरू मेरो टोलीमा हुन्थे भने, म तिनीहरूलाई मैदानबाटै घिसारेर बाहिर निकाल्ने थिएँ।”

यस विश्वकपमा आफ्ना अगाडि आउने सबै टोलीलाई पाखा लगाउँदै अघि बढेको फ्रान्सले सन् २०१८ मा जितेको उपाधि पुनः हात पार्ने सपना जीवितै राख्न यसपटक जितको नयाँ उपाय खोज्नुपर्‍यो। प्याराग्वेविरुद्धको १-० को यो जित निकाल्न फ्रान्सले निकै कडा मिहिनेत गर्नुपरेको थियो।

Advertisement

अन्तिम ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा नकआउट गर्दै प्याराग्वेले फुटबल प्रशंसकहरूको मन जितेको थियो। तर, फिलाडेल्फियाको अत्यधिक गर्मीमा खेलिएको यो तनावपूर्ण खेलमा भने उनीहरूले आफ्नो कुरुप रूप देखाए।

खेलका क्रममा एन्ड्रेस कुबासले एड्रियन राबियटलाई लडाए पनि उनी बुकिङ हुनबाट जोगिए। जुआन जोसे सेसेरेसले किलियन एमबाप्पेलाई लात्ताले हाने पनि उनीमाथि कुनै कारबाही भएन।

आश्चर्यको कुरा, फ्रान्सका मनु कोने, ब्राडली बारकोला र माइकल ओलिसेले पहेँलो कार्ड खाँदा प्याराग्वेका कुनै पनि खेलाडी बुकिङ भएनन्। खेलको अन्तिम समयमा खेलमा फर्कन संघर्ष गरिरहेको प्याराग्वेका ग्याब्रियल एभालोसले दायोट उपामेकानोको पेटमा कुइनोले हान्दा समेत रेफ्री मौन रहे।

“यो दृश्य हेर्नै लाजमर्दो थियो,” इंग्ल्यान्डका पूर्वडिफेन्डर मिका रिचर्ड्सले बीबीसी वनसँग भने।

उनले प्याराग्वे योभन्दा राम्रो खेल्न सक्ने टोली भएको र रक्षात्मक रूपमा बलियो हुँदाहुँदै यस्तो हर्कत देखाउन आवश्यक नभएको टिप्पणी गरे।

बिहीबार फ्रान्स र मोरक्को भिड्ने

प्याराग्वेमाथिको यो जितसँगै फ्रान्सले बिहीबार बोस्टन स्टेडियममा मोरक्कोसँगको क्वार्टरफाइनल भेट पक्का गरेको छ।

खेलको २० मिनेट बाँकी रहँदा डिएगो गोमेजले डेसिरे डौलाई लडाएपछि खेलको निर्णायक मोड आएको थियो। रेफ्री इल्गिज तान्तासेभ, जसको फितलो प्रदर्शनको सर्वत्र आलोचना भइरहेको छ, उनले मैदानको मनिटरमा ‘भीएआर’ समीक्षा गर्दै फ्रान्सलाई पेनाल्टी दिएका थिए।

त्यस समयमा पनि प्याराग्वेका खेलाडीहरूले उज्बेक रेफ्रीलाई घेरेर पेनाल्टी प्रहार गर्न ढिलाइ गराउने प्रयास गरे। गुस्ताभो भेलाज्क्वेजले पेनाल्टी स्पट बिगार्ने कोसिस गरे पनि एमबाप्पेले गोल गर्दै प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गरे। यस गोलसँगै उनी गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीको बराबरीमा पुगेका छन्।

खेलपछि पनि तनाव

“विपक्षी बेन्चबाट केही यस्ता गालीगलौज आए, जुन नभएको भए राम्रो हुन्थ्यो,” फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले खेलपछिको पत्रकार सम्मेलनमा भने।

खेल सकिएको ह्विसल बजिसकेपछि पनि भेलाज्क्वेजले फ्रान्सेली खेलाडीहरूसँग झगडा गर्न खोज्दा मैदानमा केही बेर तनाव भएको थियो।

स्कटल्यान्डका पूर्वविङ्गर प्याट नेभिनले बीबीसी रेडियो ५ लाइभसँग कुरा गर्दै प्याराग्वेले फ्रान्सेली खेलाडीहरूलाई उक्साउन हरसम्भव प्रयास गरेको बताए। उनका अनुसार प्याराग्वेका खेलाडीले पहेँलो कार्ड नपाउने गरी धकेल्ने र जिस्काउने जस्ता खेलका सबै ‘कालो हर्कत’ प्रयोग गरेका थिए।

किलियन एमबाप्पेले १९ विश्वकप खेलमा आफ्नो गोल सङ्ख्या १९ पुर्‍याउँदै विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा लियोनेल मेस्सीभन्दा मात्र एक गोलले पछि परेका छन्। सन् २०१८ देखि एमबाप्पेले विश्वकपको नकआउट चरणमा मात्रै ११ गोल गरिसकेका छन्, जुन ब्राजिल (१०), इंग्ल्यान्ड (१०), पोर्चुगल (९) र स्पेन (४) को कुल गोलभन्दा पनि बढी हो।

पहिलो हाफमा कुनै पनि प्रहार ‘टार्गेट’ मा राख्न नसक्दा फ्रान्स र उसका कप्तानका लागि यो खेल निराशाजनक बन्ने जस्तो देखिएको थियो। अत्यधिक गर्मीले खेलमा ठूलो प्रभाव पारेको थियो, जसका कारण यो विश्वकप इतिहासकै सबैभन्दा तातो खेलमध्ये एक बन्यो। राष्ट्रिय मौसम सेवाको आधिकारिक पेजका अनुसार खेल सुरु हुँदाको तापमान ३८.३ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

विश्वकप इतिहासमा सबैभन्दा तातो खेलको कीर्तिमान ४३ डिग्री सेल्सियस रहेको छ, जुन सन् १९९४ मा फ्लोरिडामा रिपब्लिक अफ आयरल्यान्ड र मेक्सिकोबीचको खेलमा बनेको थियो। यद्यपि, फ्रान्सले यो गर्मी र प्याराग्वेको आक्रामक रणनीतिको सामना गर्ने बाटो खोजेरै छाड्यो।

“हामीलाई कुरुप फुटबल कसरी खेल्नुपर्छ भन्ने थाहा छ,” खेलपछि एमबाप्पेले भने।

“प्याराग्वेका खेलाडीले हामी मैदानमा टक्सिडो (सुट) लगाएर आउँछौँ भन्ने ठानेका थिए, तर हामी लडाइँका लागि तयार थियौँ। त्यस्तो खेलमा पनि हामी उनीहरूभन्दा उत्कृष्ट थियौँ।”

उनले अगाडि थपे, “त्यो उनीहरूको फुटबल खेल्ने शैली हो, फुटबलमा सही वा गलत तरिका भन्ने हुँदैन। उनीहरूले हामीलाई त्यसैगरी हराउन खोजे, तर जित हाम्रो भयो।”

विश्वकपको नकआउट चरणमा १० जित दर्ता गर्ने पहिलो प्रशिक्षक बनेका डिडियर डेसच्याम्प्सले खेलको अन्तिम समयमा प्याराग्वेले खेलमा फर्कन प्रयास गरिरहँदा आफ्ना खेलाडीहरूलाई एमबाप्पेको सुरक्षा गर्न निर्देशन दिएको खुलासा गरे।

“मैले अन्तिम समयमा टोलीका दुई सबैभन्दा अग्ला खेलाडीलाई किलियनको वरिपरि बस्न भनेको थिएँ, किनकि विपक्षीहरूले उनलाई लडाउने प्रयास गरिरहेका थिए,” डेसच्याम्प्सले भने।

उनले थपे, “यो सहज थिएन। उनीहरूले खेलका सबै नराम्रा उपायहरू अपनाए। यो रंगशालामा दर्शक तान्ने खालको फुटबल त थिएन, तर उनीहरूले रक्षात्मक खेल राम्रो खेले। यी दक्षिण अमेरिकी टोलीहरूविरुद्ध खेल्न सधैँ गाह्रो हुन्छ।”

प्याराग्वेका खेलाडीले खेलको सुरुवातदेखि नै एमबाप्पेलाई निसाना बनाएका थिए, तर उनले संयमता अपनाउँदै मैदानमा उनीहरूको हर्कतमाथि हाँसेरै प्रतिक्रिया दिए।

“यो खेलमा एमबाप्पेले जस्तो व्यवहार देखाए, मलाई त्यो निकै मन पर्‍यो,” जो हार्टले थपे।

“प्याराग्वेका खेलाडीहरूले पहिलो मिनेटदेखि नै उनलाई निसाना बनाएका थिए। उनी खेलाडीहरूलाई हेरेर हाँसिरहँदा उनलाई घमण्डी बन्ने छुट थियो।”

उनले यस्तो शैलीको फुटबल कहिल्यै खेल्न नचाहने भन्दै रेफ्रीले कुनै पनि परिस्थितिमा सहयोग नगरेको बताए। ९० मिनेटभित्र प्याराग्वेका एक जना खेलाडीले पनि पहेँलो कार्ड नपाउनु आश्चर्यजनक भएको उनको भनाइ थियो।

जर्मनीका पूर्वमिडफिल्डर थोमस हिटल्र्सपर्गरले बीबीसी वनसँग कुरा गर्दै खेलमा देखाएको व्यवहारका कारण प्याराग्वेप्रति आफ्नो कुनै “सम्मान” नरहेको बताए।

“यदि तिनीहरू फ्रान्सेली वा तटस्थ दर्शक हुन् भने, उनीहरूले प्याराग्वेलाई अब सम्मान गर्न सक्दैनन्। यो केवल लाजमर्दो मात्र होइन, त्योभन्दा पनि खराब थियो,” उनले थपे।

फ्रान्स तथा म्यानचेस्टर सिटीका फरवार्ड रायन चेर्कीले प्याराग्वेविरुद्धको खेलले टोलीले जस्तोसुकै उक्साहटलाई पनि जितेर खेल आफ्नो पक्षमा पार्न सक्छ भन्ने देखाएको बताए।

“हामीलाई थाहा थियो यो निकै कडा प्रतिस्पर्धा हुनेछ,” उनले थपे।

“तर विश्वकपको समयमा यस्तो खेल खेल्नु हाम्रा लागि महत्त्वपूर्ण थियो, जसले फ्रान्सेली टोली सुन्दर फुटबल मात्र होइन, आवश्यक पर्दा युद्ध लड्न पनि तयार छ भन्ने सबैलाई सम्झाएको छ।”

विलियम सलिबाले आफूहरूले प्याराग्वेका अघिल्ला खेलहरूको भिडियो हेरेर अध्ययन गरेपछि मात्र मैदानमा उत्रिएको बताए। आर्सेनलबाट प्रिमियर लिग जितेका यी डिफेन्डरले विपक्षीहरू कडा रूपमा प्रस्तुत हुने, फल गर्ने र उक्साउने कुरामा आफूहरू पहिले नै सचेत रहेको जानकारी दिए।

“हामीले खेलमा ध्यान केन्द्रित गरिरहनु पर्ने थियो, किनकि यदि हामीले तर्क-वितर्कमा लागेर ऊर्जा खेर फालेको भए नतिजा राम्रो आउने थिएन,” सलिबाले भने।

उनले अगाडि थपे, “त्यसैले हामी केन्द्रित रह्यौँ। यो सजिलो त छैन, तर कहिलेकाहीँ यस्तो कठिन खेल जित्नुको मजा छुट्टै हुन्छ। प्रतियोगिताको सुरुवातदेखि नै हामीले प्रत्येक खेलमा तीन गोल गर्ने बानी बसालेका थियौँ, तर यो १-० को जित पनि हाम्रा लागि तेत्तिकै मूल्यवान् छ।”

सन् २०२६ को विश्वकपमा खेललाई विनाअवरोध अघि बढाउने (फ्री-फ्लोइङ) रेफ्रीको रणनीति मुख्य विशेषताका रूपमा देखिएको छ। तर, रेफ्री इल्गिज तान्तासेभका लागि भने यो रणनीति प्रत्युत्पादक बन्यो।

प्याराग्वे कुन शैलीमा मैदान उत्रन्छ र उसले फ्रान्सको स्वभाविक खेल रोक्न कडा ट्याकलको सहारा लिन्छ भन्ने कुरामा तान्तासेभ पूर्ण रूपमा सचेत हुनुपर्ने थियो। उज्बेक रेफ्रीले खेलको सुरुवातमै आक्रामक रणनीति सह्य नहुने संकेत दिँदै आफ्नोे निर्णय क्षमता देखाउनुपर्ने थियो।

शनिबार भएको क्यानडा र मोरक्कोबीचको अन्तिम १६ को खेलमा रेफ्री माइकल ओलिभरले चलाखीपूर्ण रूपमा खेल नियन्त्रणमा राखेका थिए। उनले पहिलो हाफमै ६ वटा पहेँलो कार्ड देखाएपछि दोस्रो हाफमा खेल शान्त बन्यो र दोस्रो हाफमा दुई वटा मात्र कार्ड प्रयोग भयो।

तर, फिलाडेल्फियामा भएको खेलमा भने ठीक यसको उल्टो स्थिति देखियो। प्याराग्वेले १३ र फ्रान्सले ११ वटा फल गरेको तथ्याङ्कले मैदानको वास्तविक चित्र प्रस्तुत गर्दैन।

दक्षिण अमेरिकी टोली प्याराग्वेले गरेका रणनीतिक र ‘अफ द बल’ (बलविनाका) धेरै फलहरूलाई रेफ्रीले देखेनन्। अचम्मको कुरा त के छ भने, खेलभरि प्याराग्वेका कुनै पनि खेलाडीले पहेँलो कार्ड खाएनन्, जबकि फ्रान्सका तीन खेलाडी बुकिङ भए।

रेफ्रीको कमजोर निर्णय क्षमताका बाबजुद फ्रान्सले ‘भीएआर’ मार्फत प्राप्त पेनाल्टीका कारण खेल जित्दै अघिल्लो चरणको यात्रा तय गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री