
जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गत तेस्रो खण्डको १८ किलोमिटर क्षेत्रमा रहेको मुआब्जा विवाद समाधान भएको छ । विवाद सुल्झिएसँगै अबको दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम सुरु भएको छ ।
निर्माण कम्पनी इरकन इन्टरनेसनलले धनुषा र महोत्तरी क्षेत्रमा अहिले धमाधम ट्र्याक निर्माणको काम अगाडि बढाएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले मुआब्जा विवाद सल्टिएकाले निर्माण कार्यले गति लिएको बताए ।
कूल ७० किलोमिटर लामो यो रेलमार्गमध्ये जयनगरदेखि कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नै नियमित रेल चल्दै आएको छ । यसैबीच नेपाल रेल्वे कम्पनीले आफ्नो स्वामित्वमा रहेर पनि अतिक्रमणमा परेका जग्गाहरू खोज्न थालेको छ ।
विभिन्न स्थानमा रेल्वेको जग्गा मिचिएको फेला परेपछि कम्पनीले पुराना नक्साका आधारमा सीमानाका पहिचान गर्न सुरु गरेको पराजुलीले बताए । यो ब्रोडगेज रेलमार्ग नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यमा बनिरहेको एउटा महत्त्वपूर्ण सीमापार परियोजना हो ।
यो रेलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दुई देशबीचको व्यापार, आवागमन र आर्थिक गतिविधिलाई थप सहज बनाउने विश्वास लिइएको छ । यसले नेपालको आफ्नै रेल पूर्वाधार विस्तारमा समेत ठूलो योगदान पुर्याउने देखिएको छ ।









प्रतिक्रिया