
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले अर्थतन्त्र सुधारका लागि बजेटले सम्बोधन गर्न नसकेका विषय समेटेर आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताए। आइतबार प्रतिनिधि सभाको अर्थसमितिमा भएको छलफलमा भाग लिँदै उनले निजी क्षेत्रका बाँकी माग मौद्रिक नीतिमार्फत पूरा हुने उच्च अपेक्षा रहेको उल्लेख गरे।
विगतका नीतिले व्यवसायीलाई राहत दिएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसपटक उत्पादन, लगानी र रोजगारी प्रवद्र्धन गर्ने नीति आउनुपर्नेमा जोड दिए। अर्थतन्त्रलाई पुनर्जीवित गर्न नीतिगत सुधार नगरिएमा बजारले गति लिन नसक्ने उनको भनाइ थियो।
देशमा हाल करिब ७० प्रतिशत वस्तु आयात भइरहेको र ३० प्रतिशत मात्रै स्वदेशमा उत्पादन भइरहेको उनले जानकारी दिए। अब ७० प्रतिशत वस्तु नेपालमै उत्पादन हुने गरी राज्यले दीर्घकालीन सोच बनाउनुपर्ने उनले बताए।
पेट्रोलियम पदार्थ बाहेकका धेरै वस्तु देशभित्रै उत्पादन गरेर आयात प्रतिस्थापन गर्न सकिने सम्भावना रहेको उनले औंल्याए। नेपालमा कुल रोजगारीको करिब ८६ प्रतिशत योगदान निजी क्षेत्रले दिएको दाबी गर्दै उनले उद्योग र उत्पादनमूलक क्षेत्रमा राज्यको सहयोग पुग्न नसकेको गुनासो गरे।
व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिन जग्गा नै धितो राख्नुपर्ने बाध्यता रहेकाले निजी क्षेत्र जग्गामै लगानी गर्न केन्द्रित हुनु परेको उनले स्पष्ट पारे। निजी क्षेत्रलाई सिर्जनशील र नवप्रवर्तनमुखी बन्नुपर्ने चुनौती रहे पनि त्यसका लागि राज्यको स्पष्ट नीति र लगानीमैत्री वातावरण आवश्यक पर्ने उनले बताए।
राज्यको नीतिगत अस्थिरता र नियतका कारण निजी क्षेत्रले बारम्बार समस्या भोग्नुपरेको उनले उल्लेख गरे। बजारमा आर्थिक गतिविधि चलायमान बनाउन हाल कर्जा प्रवाह बढाउने गरी मौद्रिक नीति आउनुपर्नेमा उनले जोड दिए।









प्रतिक्रिया