
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता’ विषयक कार्यक्रममा आइतबार बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पारे।
सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको मन्त्री तिमिल्सिनाले दिए। उनले संवैधानिक हक–अधिकारको कार्यान्वयनमा बाधा पुगेको भए देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्दै आवश्यक विषयमा सरकार पत्रकारहरूसँग संवाद गर्न तयार रहेको बताए।
मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनै पनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पारे। पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरिए परिणाम सहज हुँदैन भन्ने कुरामा सरकार जानकार रहेको उनले उल्लेख गरे।
सरकारले सञ्चार माध्यम बन्द नगरेको भन्दै आफूले दिनदिनै गुनासो र आरोप खेप्नुपरेको मन्त्री तिमिल्सिनाले सुनाए। उनले साइबरसँग सम्बन्धित विषयमा सरकारले हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे।
सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाले सञ्चार माध्यमलाई थप जिम्मेवार र व्यवस्थित बनाउन ध्यान दिनुपर्नेमा उनले जोड दिए। सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार रहेको उनले प्रतिबद्धता जनाए।
मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको हित र संरक्षणका लागि काम गर्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। तर, कुनै पनि गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन उनले चेतावनी दिए।









प्रतिक्रिया