जो विश्वकपमा १५ बचाउ गर्दै बने नयाँ ग्लोबल आइकन

विश्वकप फुटबलको इतिहासमा केही यस्ता क्षणहरू आउँछन्, जसले रातारात इतिहास बदलिदिन्छन्। यस्तै एउटा चामत्कारिक नाम बनेका छन्, केप भर्डेका ४० वर्षीय भेट्रान गोलकिपर जोसिमार जोसे एभोरा डियास (भोजिन्हा)।

सन् २०२६ को जुन महिना अघिसम्म जीडी चाभेस क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनलाई थोरै अफ्रिकी फुटबल प्रशंसकले मात्र चिन्थे। तर, जुलाई महिनासम्म आइपुग्दा उनी विश्व फुटबलकै एउटा वैश्विक आइकनका रूपमा उदाएका छन्।

Advertisement

स्पेनविरुद्धको त्यो पर्खाल

विश्वकपमा पहिलो पटक डेब्यु गरेको केप भर्डेको ‘ब्लु सार्क्स’ टोलीले जुन १५ मा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गरेको थियो। पेड्रि र लामिन यमालजस्ता विश्वप्रसिद्ध र तीव्र गतिका खेलाडीहरू सम्मिलित स्पेनविरुद्ध केप भर्डेले ठूलो गोलअन्तरको पराजय ब्यहोर्ने अनुमान गरिएको थियो।

तर, मैदानमा भोजिन्हा स्पेनिस टोलीका लागि एउटा अभेद्य पर्खाल बनेर उभिए। खेलको पहिलो हाफमै स्पेनका यमालले प्रहार गरेको उत्कृष्ट बललाई भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै क्रसबारको माथिबाट बाहिर पठाएका थिए।

Cape Verde goalkeeper Vozinha celebrates as holds the flag of his country during the World Cup Group H soccer match between Spain and Cape Verde in Atlanta, Monday, June 15, 2026. (AP Photo/Mike Stewart)

खेलभरि स्पेनले बुनेका लगातारका प्रहारहरूलाई असफल बनाउने क्रममा उनले ७ वटा महत्त्वपूर्ण बचाउ गरे। एटलान्टाको मैदानमा भएको उक्त खेल शून्य-शून्यको बराबरीमा सकिएपछि उनले प्लेयर अफ द म्याचको ट्रफी हात पारेका थिए।

मेस्सीको टोलीलाई सकस

साउदी अरेबियाविरुद्धको खेलमा पनि आफ्नो पोस्ट सुरक्षित राख्दै भोजिन्हाले टोलीलाई ऐतिहासिक रूपमा अन्तिम ३२ को यात्रा गराए। त्यसपछि जुलाई ३ मा मियामीमा भएको खेलमा केप भर्डेको सामना विश्व च्याम्पियन अर्जेन्टिनासँग भयो।

अर्जेन्टिनाका लागि सहज मानिएको उक्त खेललाई भोजिन्हाले ८ वटा विश्वस्तरीय बचाउ गर्दै विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक खेलमा परिणत गरिदिए। उनले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीका मात्रै ४ वटा निश्चित गोलका अवसरहरूलाई विफल पारिदिएका थिए।

विशेषगरी खेलको ९३औँ मिनेटमा मेस्सीले प्रहार गरेको एउटा उत्कृष्ट फ्री-किकलाई उनले अचम्मको तरिकाले बचाउँदै खेललाई अतिरिक्त समयमा धकेलेका थिए। उक्त खेलमा केप भर्डे अतिरिक्त समयमा ३-२ गोलले पराजित भए पनि भोजिन्हाको प्रदर्शन इतिहासमा लेखिएको छ।

सामाजिक सञ्जालमा तहल्का

मैदानको यो सङ्घर्षपूर्ण प्रदर्शनले उनलाई फुटबल प्रशंसकको मनमा मात्र राखेन, सामाजिक सञ्जालमा पनि ठूलो धमाका ल्याइदियो। केही हप्ताको अन्तरालमै उनको इन्स्टाग्राम फलोअर्स ५० हजारबाट बढेर १ करोड ८० लाखभन्दा बढी पुगेको छ।

यो विश्वकपले उनलाई एकाएक सामाजिक सञ्जालको चर्चित अनुहार बनाउँदा उनको ब्रान्ड भ्यालु समेत १ करोड ७० लाख डलर पुगेको अनुमान गरिएको छ। ४० वर्षको उमेरमा उनले देखाएको यो प्रदर्शन सन् २०२६ को विश्वकपकै सबैभन्दा सुन्दर र प्रेरणादायी कथा बनेको छ। एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री