मुक्तिनाथ विकास बैंकद्वारा शिक्षा क्षेत्रमा सहयोग, १ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ। बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले विद्यालय पोसाक, स्कुल झोला, स्टेसनरी, शैक्षिक उपकरण तथा खेलकुदका सामग्रीहरू हस्तान्तरण गरेको हो।

विभिन्न जिल्लामा सामग्री वितरण

Advertisement

बैंकले मोरङको विराटनगरका ७८ जना विद्यार्थीहरूलाई शैक्षिक पोसाक र महोत्तरीको बर्दिबासमा १ सय २८ जनालाई स्टेसनरी सामग्री वितरण गरेको छ। अर्घाखाँचीको सन्धिखर्कका २५ जना अपाङ्गता भएका बालबालिका तथा डडेलधुराको खिन्नेभाडीका १ सय ५० विद्यार्थीहरूलाई स्कुल झोला र स्टेसनरी प्रदान गरिएको छ।

रुपन्देहीको बुटवलमा २१ वटा, उदयपुरको बागचौरीमा ५० जनालाई र झापाको कचनकवलमा २ सय जनालाई स्कुल झोला वितरण गरिएको छ। नवलपरासीको बर्दघाटमा ८५ वटा, सर्लाहीको राजघाटमा २ सय जना र कञ्चनपुरको तिलकपुरमा १ सय १० जना बालबालिकाहरूलाई झोला तथा स्टेसनरी सामग्री दिइएको छ।

आर्थिक सहायता र डिजिटल बोर्ड

बैंकले ‘अस्तित्व नेपाल’ नामक सामाजिक संस्थासँग सहकार्य गर्दै आगोबाट प्रभावित तथा आर्थिक रूपमा कमजोर ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्च बेहोर्ने भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरालाई १ थान डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ।

रुपन्देहीको देवदहस्थित विद्यालयलाई ४ थान सिलिङ पंखा तथा महोत्तरीको बर्दिबास र बुटवलका विद्यालयलाई खेलकुदका सामग्रीहरू उपलब्ध गराइएको छ। यस सहयोगले शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूलाई राहत पुग्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री