भारतीय अनुदानमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’

ललितपुरस्थित जेष्ठ वर्ण महाविहारले प्राप्त गरेको प्रतिष्ठित ‘२०२५ युनेस्को एसिया-प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार’ अन्तर्गतको ‘अवार्ड अफ मेरिट’ बिहीबार एक समारोहबीच हस्तान्तरण गरिएको छ। नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा उक्त अवार्ड महाविहार उपभोक्ता समितिलाई बुझाए।

नेपाल सरकारका अधिकारी, सम्पदा संरक्षणविद् र स्थानीय समुदायको उपस्थिति रहेको उक्त कार्यक्रममा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत १३ करोड ७८ लाख रुपैयाँ लागतमा यस महाविहारको संरक्षण कार्य गरिएको हो।

Advertisement

पुनर्निर्माणका लागि भारत सरकारले इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) लाई परियोजना व्यवस्थापन परामर्शदाता नियुक्त गरेको थियो। इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग समन्वय गरी काम गरेको थियो।

यस परियोजनाको उद्घाटन २०८० साल चैत्र ९ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र तत्कालीन शहरी विकास मन्त्री धनबहादुर बुढाले संयुक्त रूपमा गरेका थिए। युनेस्कोले यस परियोजनालाई समुदाय-केन्द्रित दृष्टिकोण र परम्परागत वास्तुकलासँगै आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणको सफल सन्तुलनका लागि मान्यता दिएको हो।

संरक्षण अवधिभर नेवार बौद्ध समुदायको दैनिक अनुष्ठान र साँस्कृतिक अभ्यासहरू बिना कुनै अवरोध निरन्तर सञ्चालन हुने कुरा सुनिश्चित गरिएको थियो। भारत सरकारले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारलाई १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो।

सोही प्रतिबद्धता अनुसार हालसम्म ५० हजार निजी आवास, ७० वटा विद्यालय, एक पुस्तकालय, १ सय २२ वटा स्वास्थ्य संस्था र १७ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। यसबाहेक भूकम्प प्रभावित जिल्लाहरूमा थप १४ वटा विद्यालय, ११ वटा स्वास्थ्य संस्था र १३ वटा साँस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरू पुनर्निर्माणको विभिन्न चरणमा छन्।

भारत सरकारले नेपालका ८ वटा जिल्लामा ३० वटा साँस्कृतिक सम्पदा परियोजनाहरूको संरक्षण तथा पुनस्र्थापनामा सहयोग गरिरहेको छ। काठमाडौँको सेतो मच्छिन्द्रनाथ, ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ तथा सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बा यसका उदाहरण हुन्।

भारतीय दूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले महाविहार परियोजनाको सफलताले भारत र नेपालबीचको गहिरो साँस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको बताए। ललितपुरका मेयर चिरीबाबु महर्जनले भारत सरकारप्रति आभार प्रकट गर्दै जेष्ठ वर्ण महाविहारको संरक्षणले बलियो विकास साझेदारी प्रतिबिम्बित गर्ने उल्लेख गरे।

जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे। पुनर्स्थापना गरिएको यो महाविहार समुदायको उत्थानशीलता र द्विपक्षीय मित्रताको एउटा गौरवशाली प्रतीकका रूपमा खडा रहेको उनीहरूले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री