
देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ । कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य रहेको महाशाखाले जनाएको छ ।
ठुला नदीमा तत्काल ठुलो जोखिम नदेखिए पनि ससाना नदी र खोल्साखोल्सीमा भने आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
बुधबार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । धादिङ, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्लाका नदीमा पनि पानीको सतह बढ्ने चेतावनी दिइएको छ ।
बाढीको यो जोखिम बिहीबार र शुक्रबार पनि कायम रहने देखिएको छ । बिहीबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ । सोही दिन कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही नदीमा बाढी आउन सक्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया