नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा र पञ्चायतविरुद्ध लडेका प्रजातन्त्रवादीहरू कम्युनिस्टविरुद्ध लड्न तयार रहेको बताएका छन् । ३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले भने, ‘राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लडेका हामीहरू कम्युनिस्टसँग लड्न परे लड्छौँ ।’
कार्यक्रममा देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको दावी गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार मानिसको नैसर्गिक अधिकार निषेधित क्षेत्रहरू तोकेर मानिसको विरोध गर्न पाउने अधिकार सरकारले हनन गरेको बताए ।
सभापति देउवाले भने,‘वीपी भन्नुहुन्थ्यो– कम्युनिस्टहरू प्रजातन्त्रवादी हुँदैनन्, उहाँले पहिला नै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौँ’, उनले भने ‘यो मानअधिकार विरोधी सरकार हो, निरंकुशता र एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको छ ।’
देउवाले कम्युनिस्टहरू ‘सच्चा मानेमा प्रजातन्त्रवादी नभएको पुष्टि भएको’ दावी गर्दै उनीहरूले भावी दिनमा ‘बोल्न र लेख्न समेत नदिने’ दावी गरे।
सुशील कोइराला प्रधानमन्त्री छँदा गठित माथेमा कार्यदलले बनाएको प्रतिवेदनअनुसार स्वास्थ्य शिक्षा विधेयक ल्याउनुपर्नेमा सरकारले आफूअनुकूल अध्यादेश ल्याएको बताए । ‘गोविन्द केसीका जयज मागमा हाम्रो समर्थन छ । उहाँका माग पूरा गर्नुपर्छ र उहाँलाई बचाउनुपर्छ’, उनले भने ।







प्रतिक्रिया