शुक्रबार, १६ साउन २०८२

कांग्रेस र एमाले शीर्ष नेताहरुबिच बालुवाटारमा छलफल, के भयाे कुराकानी ?

समयपोष्ट २०८२ साउन १५ गते १५:४६

सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बालुवाटारमा भएको बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे कुनै छलफल नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन्।

नेता खड्काका अनुसार, बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, विधेयकहरूलाई टुंग्याएर कानुन निर्माण गर्ने र बागमती प्रदेश सरकारको विषयमा छलफल केन्द्रित थियो। “संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन, त्यो विषयमा कुनै चर्चा नै भएन,” खड्काले भने।

बैठकमा बागमती प्रदेश सरकारको विषयमा सामान्य समीक्षा भएको उनले बताए। “बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो। यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ, एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो,” खड्काले थपे, “हामीले बागमतीको समस्या चाँडै हल गर्छौं भन्यौं।”

त्यस्तै, समग्र सरकारको कार्यसम्पादनबारे छलफल हुँदा काम कारबाहीलाई प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतका विषयमा कुराकानी भएको थियो। बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री