सोमबार, १२ साउन २०८२

चनौलीमा हितेन्द्र, डिप बोरिङ जडान र विद्युत आपूर्तिको अवस्था बुझ्न मधेश जाने

समयपोष्ट २०८२ साउन १२ गते १४:५७

चितवनको चनौली वितरण केन्द्रमा देखिएको विद्युत आपूर्तिको समस्याले स्थानीयको दैनिकी प्रभावित भएको छ। यो समस्याको तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबार बिहानै चितवन पुगेका छन्।

चनौली वितरण केन्द्रको ३३/११ केभी सवस्टेशनमा न्यु भरतपुर बसेनी सवस्टेशनबाट आउने ३३ केभी लाइनको क्षमता अपर्याप्त र साँघुरो बाटोका कारण समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ। यो लाइनको क्षमता ३०० एम्पिएर मात्रै भए पनि माग बढेर ४५० एम्पिएरसम्म पुग्दा लोड धान्न नसकेको प्राविधिकहरूको भनाइ छ।

“हामीले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बसेनी १३२ केभी सवस्टेशनबाट चनौलीसम्म नयाँ ३३ केभी लाइन निर्माणको काम अन्तिम चरणमा पुर्‍याएका छौं,” कार्यकारी निर्देशक शाक्यले भने। उनले थपे, “हामीले रातभरि प्राविधिक टोली खटाएर समस्या समाधानको प्रयास गरिरहेका छौं। आज बेलुकासम्म चनौलीको समस्या समाधान हुने र भोलिदेखि नियमित विद्युत आपूर्ति हुनेमा हामी आशावादी छौं।”

यसैबीच, पूर्वी चितवनको हर्दीमा २४ मेगावाटको नयाँ ट्रान्सफर्मर जडानको काम सम्पन्न भई चार्ज गर्ने प्रक्रिया सुरु भएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए। “ट्रान्सफर्मर चार्ज भएपछि आजै लोड सार्ने काम सम्पन्न हुन्छ र विद्युत आपूर्ति नियमित हुनेमा हामी विश्वस्त छौं,” उनले भने।

यसैबीच, शाक्यले चितवनको अनुगमनपछि मधेस प्रदेशको जनकपुर पुगेर त्यहाँको डिप बोरिङ जडान र विद्युत आपूर्तिको अवस्था बुझ्ने योजना बनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको ५०० डिप बोरिङ जडान गर्ने घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले तीव्र गतिमा काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री