सोमबार, १२ साउन २०८२

जलविद्युत् आयोजनाबाट तीन अर्ब ८० करोड ३० लाख रोयल्टी संकलन

समयपोष्ट २०८२ साउन १२ गते १६:३७

विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जलविद्युत् आयोजनाहरूबाट ३ अर्ब ८० करोड ३० लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको बक्यौतासहित हो।

विभागले आर्थिक वर्ष २०६६/०६७ देखि हालसम्म ३४ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ रोयल्टी संकलन गरेको जनाएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ४४ करोड ४४ लाख, आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब १५ करोड ५१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रोयल्टी उठेको थियो। आर्थिक वर्ष २०६६/०६७ मा भने ७६ करोड ८८ लाख ४४ हजार रुपैयाँ संकलन भएको थियो।

विद्युत् ऐन, २०४९ को दफा ११ अनुसार, जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रति जडित किलोवाट वार्षिक १०० रुपैयाँ र प्रति युनिट किलोवाट घन्टा सरदर बिक्री मूल्यको २ प्रतिशत रोयल्टी तिर्नुपर्छ। त्यसपछि, १५ वर्ष पूरा भएपछि प्रति जडित किलोवाट वार्षिक १,००० रुपैयाँ र प्रति युनिट किलोवाट घन्टा सरदर बिक्री मूल्यको १० प्रतिशत रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनले आर्थिक वर्ष २०७९/०८० मा २८ करोड ६९ लाख ९५ हजार र २०८०/०८१ मा १६१ जलविद्युत् कम्पनीबाट ३ अर्ब ५८ करोड ९७ लाख ७ हजार गरी कुल ३ अर्ब ८७ करोड ६७ लाख २ हजार रोयल्टी उठ्नुपर्नेमा ३ अर्ब ४४ करोड ४४ लाख ४६ हजार मात्र असुल भएको र ४३ करोड २२ लाख ५६ हजार बक्यौता रहेको उल्लेख गरेको छ। प्रतिवेदनमा बक्यौता समयमा असुल नभएको र ब्याज तथा जरिवाना नलाग्ने भएकाले सरकारलाई प्राप्त हुनुपर्ने रकम असुल गर्नुपर्ने सुझाव दिइएको छ।

सरकारले संकलित रोयल्टीको ५० प्रतिशत संघ सरकार, २५ प्रतिशत प्रदेश सरकार र २५ प्रतिशत स्थानीय तहमा बाँडफाँट गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री