आइतबार, ११ साउन २०८२

कारागारबाट दुर्गा प्रसाईं- सुसाइड नोट पढेर ढोका थुनेर रोए

समयपोष्ट २०८२ साउन ११ गते १८:५७

तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य आरोपीका रूपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कारागारबाट भावुक अपिल जारी गरेका छन्। उनको सचिवालयले सामाजिक सञ्जालमार्फत यो अपिल सार्वजनिक गरेको हो।

प्रसाईंले कारागारमा बसेर पनि आगामी यात्राको योजना बनाइरहेको बताएका छन्। चैत्र १५ को तीनकुने घटनामा आफ्नो कुनै गल्ती नभएको दाबी गर्दै उनले आफूलाई सिध्याउने षड्यन्त्र भएको थाहा पाएपछि मात्र गाडी प्रहरीतर्फ हुइँक्याएको बताएका छन्। उनले भने, “जब मेरो गाडीमा अश्रुग्यास खस्यो र अगाडिबाट गोली चल्यो, मैले बुझेँ कि मलाई सिध्याउने योजना छ। त्यसपछि मात्र मैले चालकलाई बाहिर निकालेर गाडी प्रहरीतर्फ हुइँक्याएँ। मलाई तुरुन्तै नियन्त्रणमा लियोस् भन्ने चाहना थियो, तर प्रहरीले लिएन।”

बाहिरबाट कठोर देखिए पनि आफू भित्रबाट निकै भावुक भएको उनको भनाइ छ। प्रेम आचार्यले संसद् भवनअगाडि आत्मदाह गरेपछि उनको सुसाइड नोट पढेर आफू ढोका थुनेर रोएको प्रसाईंले खुलासा गरेका छन्। “प्रेमको कष्टपूर्ण व्यावसायिक यात्रामा मैले आफ्ना दुखका दिन देखेँ। तर अब आँसु बगाएर मात्र हुँदैन भन्ने लाग्यो,” उनले भने।

प्रसाईंले कारागारमै भए पनि आफ्नो नातिलाई भेट्ने रहर व्यक्त गरेका छन्। विदेशमा पढाइका लागि गएकी छोरी यसै महिना डाक्टर बनेर फर्किँदै गर्दा एयरपोर्टमा स्वागत गर्न नपाउने भन्दै उनले दुखेसो पोखेका छन्। “सबै नेपालीले सन्तानसँग जीवन जिउन पाउन्, हजुरबुबा–हजुरआमाको काखमा नातिनातिना होऊन् भन्ने मेरो अभियान हो। तर मेरो नातिले मलाई धेरै सम्झन्छ रे। कारागारमै बोलाएर एकछिन खेलाउँ भन्ने मन छ, तर मन सम्हालिन्छ कि भन्ने डर छ,” उनले लेखेका छन्।

नेपाल सरकार, माफिया, तस्कर र देशहितविपरीत काम गर्ने राजनीतिज्ञको मुकुण्डो उदाङ्गो पारेका कारण आफू कारागारमा रहेको उनको दाबी छ। उनले तीनकुने घटनालाई शान्तिपूर्ण आन्दोलन बनाउन खोजे पनि सरकारले बर्दीधारी गुण्डा परिचालन गरी बदनाम गरेको आरोप लगाएका छन्।

प्रसाईंले २०४६ को संविधान पुनर्स्थापना र हिन्दु राजतन्त्रको पक्षमा आफ्नो अभियान रहेको दोहोर्‍याएका छन्। उनले झापाको बी.एण्ड.सी. अस्पतालमा आर्थिक अभावमा उपचार गर्न नसक्नेहरूलाई आफ्नो नाममा निःशुल्क उपचार गराउन आग्रह गरेका छन्। “सूर्यमा सधैं ग्रहण लाग्दैन, एक दिन आकाश खुल्छ, धर्ती उज्यालो हुन्छ। हामी मिलेर सुन्दर नेपाल बनाउँछौं,” उनले भने।

यो अपिलले समर्थकहरूमा उत्साह र आलोचकहरूमा बहस सिर्जना गरेको छ। प्रहरीले भने उनको षड्यन्त्रको आरोपबारे कुनै टिप्पणी गरेको छैन। कारागारबाटै आन्दोलनको योजना बनाइरहेका प्रसाईंको यो अपिलले राजावादी आन्दोलनलाई थप चर्चामा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री