
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो ।
निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको छ ।यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले यहाँ पनि मूल्य समायोजन गरेको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर (१४.२ केजी) दुई हजार ६० रुपैयाँ पर्नेछ । यसअघि ग्यासको मूल्य दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय २९ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको छ । जसअनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।
विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आए पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले प्रष्ट पारेको छ । निगमले जारी गरेको विज्ञप्तिमा ‘हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरूप इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य घटेर आएको’ उल्लेख छ ।










प्रतिक्रिया