
काठमाडौँस्थित भारतीय राजदूतावासले आशालाग्दा तीन नेपाली यु–१९ महिला क्रिकेट खेलाडीलाई व्यावसायिक स्तरको क्रिकेट किट प्रदान गरेको छ।
दूतावासले सना प्रवीण, कृष्मा गुरुङ र सावित्री धामीलाई किटसहित आगामी वर्ष तय भएको आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सफलताको शुभकामना दिएको हो।

इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्टको दोस्रो संस्करण समापनको अवसरमा उक्त सहयोग हस्तान्तरण गरिएको हो। यो प्रतियोगिताले खेलकुदको माध्यमबाट नेपालसँगको सम्बन्ध सुदृढ बनाउने र युवा प्रतिभाको विकासलाई सहयोग गर्ने भारतको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

दूतावासले असार १२ गतेदेखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा प्रतियोगिता आयोजना गरेको थियो।

यस प्रतियोगितामा दूतावास, परराष्ट्र मन्त्रालय, कूटनीतिक समुदाय, नेपाली मिडिया, पूर्व खेलाडी, सरकारी अधिकारी, कर्पोरेट संस्था र भारतीय प्रवासी (आईसीएएन) को टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको उद्घाटनमा भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी लगायतको उपस्थिति रहेको थियो। असार १४ गते भारतीय राजदूतावास र आईसीएएनबीच भएको रोमाञ्चक फाइनल खेलसँगै प्रतियोगिता सकिएको हो।

खेलपश्चात् राजदूत श्रीवास्तव र आयोजकका प्रतिनिधिले विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरे। प्रतियोगिता सफलताको उत्सव मनाउन असार १५ गते आयोजना गरिएको रिसेप्सनमा राजदूतले नेपाल क्रिकेट संघ (क्यान) र आयोजक साझेदारलाई धन्यवाद व्यक्त गरे।











प्रतिक्रिया