मध्यपूर्व सङ्कट : अरब अर्थतन्त्रमा १ सय ९४ अर्ब डलरको क्षति हुने चेतावनी, ३६ लाख रोजगारी जोखिममा

मध्यपूर्वमा जारी सङ्कटका कारण अरब मुलुकको अर्थतन्त्रमा १ सय ९४ अर्ब अमेरिकी डलरसम्मको क्षति पुग्न सक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले दिएका छन्। यो सङ्कटले श्रम बजारमा असमानता बढाउँदै विशेष गरी महिलाको रोजगारीमा गम्भीर असर पार्ने देखिएको छ।

Advertisement

‘युएन वुमन’ र ‘युनाइटेड नेशनस् इकोनोमिक एण्ड सोसियल कमिसन् फर वेष्टर्न एसिया’ले मङ्गलबार सार्वजनिक गरेको नीतिगत विवरण अनुसार अरब मुलुकमा ३६ लाख रोजगारी जोखिममा पर्न सक्छ। प्रतिवेदनमा सङ्कटका कारण थप ४० लाख मानिस गरिबीको चपेटामा पर्न सक्ने अनुमान समेत गरिएको छ।

श्रम बजारमा विद्यमान संरचनागत असमानता र अनौपचारिक रोजगारीका कारण महिलाहरू यस सङ्कटबाट असमान रूपमा प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। इराक, जोर्डन, लेबनान, प्यालेस्टाइन र सिरियामा अल्पकालीन अवधिमै ३४ हजारदेखि ५६ हजार महिलाको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ।

सङ्कट अझ गहिरिँदै गएमा रोजगारी गुमाउने महिलाको सङ्ख्या करिब ८० हजारसम्म पुग्न सक्ने चेतावनी दिइएको छ। कडा वित्तीय अवस्थाका कारण शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा नयाँ नियुक्ति रोकिने र तलब कटौती हुने अवस्था आउन सक्छ।

अरब राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय महिला निकायकी क्षेत्रीय निर्देशक मोएज डोरेडले आर्थिक सङ्कटको प्रभाव सबै वर्गमा समान नहुने भएकाले महिलाका लागि लक्षित कार्यक्रम आवश्यक रहेको बताए। पर्याप्त उपाय नअपनाए सङ्कटले विद्यमान असमानता अझ गहिरो बनाउने र महिलाको आर्थिक सशक्तीकरणलाई पछाडि धकेल्ने उनको भनाइ छ।

प्रतिवेदनले अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत महिलाका लागि आयस्रोतको सुरक्षा विस्तार गर्न र शिक्षा तथा स्वास्थ्य क्षेत्रको खर्च संरक्षण गर्न सुझाव दिएको छ। यसका साथै महिला नेतृत्वका व्यवसायलाई सहयोग गर्न तथा लैङ्गिक आधारमा विभाजित श्रम बजारको निगरानी प्रणाली बलियो बनाउन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री