डलरको तुलनामा येन ४० वर्षयताकै कमजोर: बजार नियन्त्रण गर्न जापान सरकार हस्तक्षेपको तयारीमा

अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापान सरकारले विदेशी विनिमय बजारमा हस्तक्षेप गर्ने तयारी गरेको छ। जापानका अर्थमन्त्रीले मङ्गलबार परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे जुनसुकै बेला उचित कदम चालिने बताए।

Advertisement

मध्यपूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापानबीचको ब्याजदर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाब पर्दै आएको छ। गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर १६१ दशमलव ९६ येन पुगेपछि जापानी मुद्रा सन् १९८६ यताकै कमजोर स्तरमा पुगेको थियो।

मङ्गलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर १६२ दशमलव ४० येनसम्म पुगेपछि केही सुधार भई १६२ दशमलव १७ येनमा कारोबार भएको थियो। बजारलाई नियन्त्रणमा राख्न जापान सरकारले गत महिना ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो।

जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे २८ देखि जुन २६ सम्मको अवधिमा भने विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन। तर पछिल्लो समय येन सङ्कट गहिरिएपछि सरकारले पुनः बजारमा रकम खन्याउने सङ्केत दिएको छ।

कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत निकै बढेको छ। विशेषगरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेपछि प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ।

यद्यपि येन कमजोर हुँदा जापान विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ। यसले गर्दा देशको पर्यटन व्यवसाय तथा आन्तरिक उपभोगमा भने सकारात्मक प्रभाव पारेको छ।

यसै महिना जापानको केन्द्रीय बैंकले ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा पुर्‍याए पनि येनको अवमूल्यन रोकिन सकेको छैन। अमेरिकी सङ्घीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ।

यसले गर्दा दुई देशबीचको ब्याजदर अन्तर कायम रहने देखिन्छ। विश्लेषकहरूका अनुसार यो अन्तर तत्काल नघट्ने भएकाले येनमाथिको दबाब अझै केही समय कायमै रहनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री