
चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो, जहाँ पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गरे।

खेलको ४२औं मिनेटमा जुलियो एन्सिसोले गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए। जर्मनीका लागि काई हाभार्टले ५४औं मिनेटमा बराबरी गोल फर्काएपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो।
पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोसे क्यानालेले पेनाल्टी सुटआउटमा गोल गरे। जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले मात्र गोल गर्न सके।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई–दुई पेनाल्टी बचाउँदा ३–३ को बराबरी भएको थियो। जर्मनीका काई हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाएका थिए।
छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका जोनाथन ताहाको प्रहार पोस्टभन्दा बाहिर गयो। त्यसपछि जोसे क्यानालेले पाराग्वेका लागि निर्णायक गोल गरेपछि जर्मनी बाहिरिन पुग्यो।

सन् २०१४ मा विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन। पछिल्लो दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगे पनि पहिलो खेलमै पराजित भयो ।
पाराग्वेले भने इतिहासमा दोस्रो पटक विश्वकपको नकआउट चरणमा जित निकालेको हो। सन् २०१० को विश्वकपमा जापानलाई पेनाल्टी सुटआउटमै हराएर क्वाटरफाइनल पुगेको पाराग्वेले यसपटक फ्रान्स र स्वीडेनबीचको विजेतासँग खेल्ने तय भएको छ ।









प्रतिक्रिया